रोहितले सकेनन् जिताउन, अरू खेलाडी सकेनन् टिक्न

0 Shares

काठमाडौं । घरेलु टोली नेपाललाई वेष्ट इण्डिज ‘ए’ले १० रनले पराजित गरेको छ । जम्मा १६१ रनको लक्ष्य पाएको नेपालले १५० रन मात्रै बनाउँदा पाहुना टोली वेष्ट इण्डिज ‘ए’ विजयी भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ले निर्धारित ओभर खेल्दै सात विकेटको क्षतिमा १६० रन बनाएको थियो ।

सामान्य लक्ष्य पछ्याएको नेपालको ब्याटिङमा कप्तान रोहित पौडेल मात्रै सम्हालिएर खेले । उनी सर्वाधिक ७१ रनमा नटआउट भए । यस क्रममा उनले ६ चौका र दुई छक्का प्रहार गरे । गुल्सन झाले ११ बलमा २६ रन बनाए । लोकेश बम १७ रनमा आउट हुँदा अन्य खेलाडी चल्न सकेनन् ।

यस्तै, वेष्ट इण्डिजको ब्याटिङतर्फ आन्द्रे फ्लेट्चेरले सर्वाधिक ४३ रन बनाए । यस क्रममा उनले तीन छक्का प्रहार गरे । कप्तान रोस्टन चेसले २२ बलमा २३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ब्याटिङमा सुरुदेखि नै वेष्ट इण्डिज ‘ए’लाई दबाबमा राखेको नेपाल अन्ततः आफै दबाबमा परेपछि पराजित भएको हो । पहिलो खेल जितेको टोली दोस्रो जितको लक्ष्यसहित मैदानमा पुगेको थियो ।

वेष्ट इण्डिजले तेस्रो ओभरमा दुई विकेट गुमाएको थियो । नेपालका लागि सागर ढकालले तेस्रो ओभरमा दुई विकेट लिँदै दुवै ओपनरलाई आउट गरेका थिए ।

यस्तै, कुशल भुर्तेलले वेष्ट इण्डिज ‘ए’का कप्तान चेश र केञ्ची कार्टीको विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट हात पारे । हायडेन वाल्स रन आउट भएका थिए ।

शनिबारको पहिलो खेलमा नेपालले वेष्ट इण्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको थियो । पहिलो खेलमा नेपालले जित निकाल्दा कप्तान रोहित पौडेलले उत्कृष्ट शतकीय पारी खेलेका थिए । उनकै बलमा नेपाल विजयी भएको थियो ।

सम्बन्धित समाचार