काठमाडौं । नेपालमा यस वर्षको प्रि-मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ । जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो ।
विभागका मौसमविद् सञ्जिव अधिकारीले प्रि-मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि-मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिउ । विभागले सार्वजनिक गरेको तथ्यांक्अनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि-मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो ।
यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको थियो । तथ्यांक्अनुसार सन् २००० मा ३२३ दशमलव १९ मिलिमिटर, सन् २०२१ मा ३१७.८८ मिलिमिटर र सन् २०२० मा ३१५.७८ मिलिमिटर वर्षा भएको थियो । यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ ।
विभागका अनुसार प्रि-मनसुन अवधिमा औसतभन्दा उल्लेख्य बढी वर्षा हुनु जलवायु प्रणालीमा देखिएको परिवर्तनको संकेत हुन सक्छ । यस अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटनासमेत बढेको देखिएको छ ।
विभागका अनुसार यस वर्षको प्रि-मनसुन वर्षा सन् १९९० यताकै मात्र नभई उपलब्ध अभिलेखमा सबैभन्दा उच्च रहेको रेकर्डका रूपमा दर्ता भएको छ ।