विजय परियार
बाँके । कोहलपुर उद्योग वाणिज्य संघको आयोजना तथा व्यवस्थापनमा हुन लागेको कोहलपुर महोत्सव २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव मूल समितिका संयोजक प्रदिप भट्टराई ‘दिगो विकासको उत्सव’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो महोत्सव पुष ९ गतेदेखि १८ गतेसम्म कोहलपुर न्यूरोड खुल्ला मैदानमा भव्य रुपमा सञ्चालन हुने भएको छ ।
मुख्य आकर्षण तथा उद्देश्य यो महोत्सव कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानका लागि २०६५ सालदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको एक महत्वपूर्ण उत्सव हो ।
यस वर्षको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष तथा देशका प्रतिष्ठित उद्योगी व्यवसायी चन्द्र प्रसाद ढकालले गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका निम्न विविध प्रदर्शन तथा आकर्षक कार्यक्रम रहने छन् । उद्योग व्यवसाय, लघु, घरेलु तथा साना ठूला उद्योग व्यवसाय उत्पादन हस्तकला तथा कृषि पशुजन्य उत्पादनको प्रदर्शनी शैक्षिक विद्यालयस्तरीय शैक्षिक र विज्ञान प्रदर्शनी
प्रविधि सूचना सञ्चार प्रविधिका नयाँ आयामको प्रदर्शन सांस्कृतिक लोकसाँस्कृतिक प्रस्तुति, नयाँ प्रतिभा खोजी प्रतियोगिता र महिला विशेष कार्यक्रम रहेको छ ।
महोत्सवलाई सफल बनाउन संघले स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्य संस्था र अन्य सरोकारवाला पक्षसँग सघन समन्वय गरिरहेको छ ।
आयोजकका अनुसार, यस महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, प्रविधिको हस्तान्तरण, कला संस्कृति संरक्षण र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने छ।
कोहलपुरलाई प्रदेशकै प्रमुख व्यापारिक तथा सांस्कृतिक केन्द्रका रुपमा स्थापित गर्ने लक्ष्यसहित यस वर्षको महोत्सवलाई अझ व्यवस्थित, समावेशी र सहभागीमूलक बनाइने तयारी छ ।
कोहलपुर उद्योग वाणिज्य संघले महोत्सवका माध्यमबाट स्थानीय उद्यमीको क्षमतावृद्धि र समग्र क्षेत्रको दिगो आर्थिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।