काठमाडौं । महाधिवेशनको विवादलाई लिएर लामो समयसम्म बस्न नसकेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँगै पार्टीभित्र महाधिवेशनलाई लिएर चर्को विवाद हुँदै आएको थियो । पार्टीभित्र संस्थापन पक्षले महाधिवेशन सार्ने बल गरिरहँदा दुई महामन्त्रीसहित विपक्षी पक्षले फागुन २१ गते हुने निर्वाचनअघि हुनुपर्ने माग राख्दै आएका थिए ।
महाधिवेशनलाई लिएर दुई महिनादेखि विवादको भुमरीमा फसेका कांग्रेसमा अन्ततः नेताहरूबीच पुस अन्तिम साता १५ औँ महाधिवेशन गर्ने कार्य तालिकामा प्रारम्भिक सहमति जुटेको छ ।
पार्टीभित्र महाधिवेशन गर्ने सहमतिसँगै पुस २६ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने गरी आज केन्द्रीय कार्य समिति बैठकमा कार्यवाहक सभापति खड्काले कार्य तालिका प्रस्तुत गर्ने भएका छन् ।
सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायत छलफलपछि महाधिवेशन कार्य तालिका ल्याउने तयारी भएको हो ।
महाधिवेशनका लागि कार्य तालिका ल्याउने तयारी भए पनि पार्टीभित्रको विपक्षीमा धारका नेताहरूले शंका व्यक्त गरेका छन् । इतर पक्षले कार्य तालिका ल्याउनु ठूलो कुरा नभई महाधिवेशन गर्न सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने इतरपक्षको नेतृत्व महामन्त्रीद्वय थापा र शर्माले गरेका छन् ।
कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत २९ असोजमा कार्यवहाक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए । विधानअनुसार हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने नीति छ ।