बाँके। खोलालाई स्वच्छ, सफा र वातावरणमैत्री बनाउने उद्देश्यका साथ डुडुवा खोला सरसफाइ अभियान सञ्चालन गरिएको छ।
यस अभियानको अगुवाइ स्थानीय समाजसेवीरयुवा भुम भण्डारीले गरेका छन्। डुडुवा खोलालाई प्रदूषणमुक्त बनाई यसको प्राकृतिक सुन्दरता जोगाउन र स्थानीय समुदायलाई स्वच्छ वातावरणको महत्त्वबारे सचेत गराउन यो बृहत् अभियान थालिएको हो।
खोलामा फालिएका फोहोरमैला, प्लास्टिकजन्य वस्तु तथा अन्य प्रदूषणकारी सामग्रीहरूको सफाइमा विशेष जोड दिइएको छ।
अभियन्ता भुम भण्डारीले खोला सफाइले मात्र नभई वातावरण संरक्षण र जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। यसले खोला सरसफाइलाई केवल एक कार्यक्रमका रूपमा नभई, जनचेतना र सामुदायिक जिम्मेवारीको विषय बनाउन मद्दत गरेको छ। सहभागीहरूले खोलाको छेउछाउ र वरपर जम्मा भएका फोहोरहरू सङ्कलन गरी उचित व्यवस्थापन गरेका थिए।
‘डुडुवा खोला हाम्रो जीवनको आधार हो। यसलाई सफा राख्नु हामी सबैको कर्तव्य हो,’ अगुवा भुम भण्डारीले भने, ‘यो अभियान निरन्तर जारी रहनेछ र सबैलाई खोला तथा वरपरको वातावरण सफा राख्न आग्रह गर्दछौँ।’

शङ्कर न्यौपाने (सामाजिक अभियन्ता) : ‘यस्तो सराहनीय काममा सहभागी हुन पाउँदा हामीलाई खुसी लागेको छ। खोला सफा राख्नु हाम्रो भविष्यका लागि पनि अपरिहार्य छ।’
युवराज पोखरेल (सामाजिक अभियन्ता) : ‘भुम भण्डारीको यो पहल सम्पूर्ण समुदायका लागि एउटा प्रेरणा हो। यसले स्थानीयस्तरमा वातावरण संरक्षणको चेतना बढाएको छ। सरसफाइमा सबैको निरन्तर साथ आवश्यक छ।’
निरज निस्चल (पत्रकार) : ‘हामी युवाहरूले आफ्नो ठाउँको प्राकृतिक सम्पदा जोगाउन सक्रिय भूमिका खेल्नुपर्छ भन्ने सन्देश यो अभियानले दिएको छ।’
दिनेश न्यौपाने (पत्रकार) : ‘यस्ता सामुदायिक अभियानहरूलाई सञ्चार माध्यमबाट प्रोत्साहन गर्नु पत्रकारको पनि दायित्व हो। जनसहभागितामा आधारित यो कार्य अत्यन्तै महत्त्वपूर्ण छ।’
विजय परियार (पत्रकार) : ‘खोलाको प्रदूषणले जनस्वास्थ्यमा पार्ने नकारात्मक असरलाई कम गर्न यो अभियान कोशेढुङ्गा सावित हुनेछ। स्थानीय अगुवाहरूको सक्रियता प्रशंसनीय छ।’
वातावरणमैत्री भविष्यको आशा
यो अभियानले डुडुवा खोलालाई भविष्यमा प्रदूषणमुक्त बनाई स्वच्छ जल र हराभरा किनारा सहितको वातावरणमैत्री सम्पदाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। स्थानीय अगुवाको सक्रियता र जनसहभागिताले यस क्षेत्रमा वातावरण संरक्षणको नयाँ सन्देश प्रवाह गरेको छ। यस अभियानको निरन्तरताले डुडुवा खोलालाई पहिलेकै स्वरूपमा फर्काउन मद्दत गर्ने विश्वास लिइएको छ।