काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले आगामी मंसिर २७ गते राजनीतिको महाभूकम्प जाने उद्घोष गरे । पूर्वमन्त्री भीम रावलसहित दुई पार्टीको राष्ट्रिय सभा गृहमा बुधबार भएको एकता सभामा ज्वालाले २०७२ साल वैशाख १२ गतेको जत्तिकै राजनीतिको भूकम्प मंसिर २७ गते जाने दाबी गरे ।
नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुने भएकाले त्यसबाट पार्टी विभाजन भएर विस्फोट हुने नेता ज्वालाले संकेत गरेका हुन् । भूकम्पले धरहराको ठुटो मात्रै बाँकी रहेको बताउँदै उनले राजनीति रूपमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली नामको ठुटो अर्थात् व्यक्ति मात्रै रहने व्याख्या गरे ।
एमाले अध्यक्ष ओलीप्रति पार्टीका वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिव योगेश कुमार भट्टराईलगायत नेताहरूले आलोचना गर्दा पार्टीबाट बाहिरिनुपर्ने अवस्था आउन सक्ने नेता रावलले समेत दाबी गरे । नेता रावलले ओलीको बोली र व्यवहारमा एकरूपता नभएकाले मिठो गुलियो भाषणमा नभुल्न असन्तुष्ट नेताहरूलाई आग्रह गरे ।
एमाले अध्यक्ष ओलीले महाधिवेशनमा धेरै जनाले बोल्ने र बहस गर्ने केही नहुने भन्दै आफूले बोलेपछि सकिने केही दिनअघि सार्वजनिक अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले एमाले असन्तुष्ट नेताहरूलाई नराम्रोसँग झस्काएको छ । कम्युनिस्ट पार्टी त्यसैमा सामान्य लोकतान्त्रिक पद्यति पनि नहुने देखेपछि असन्तुष्ट नेताहरु अन्योलमा परेका हुन् । त्यति मात्रै होइन पार्टीमा माधवकुमार नेपाल पक्षका भनिएका दश भाइ नेताहरूलाई अनावश्यक रूपमा भाउ दिएर उपाध्यक्षसहित सचिव बनाएको भन्दै ओलीले पार्टी र्याईर्याई गर्ने गरेको भन्दै आक्रोश पाखेका थिए । आफू उदार हुँदा नेपाल पक्ष भनिएका नेताहरूलाई ल्याउँदा उल्टो टाउको दुखाई भएको उनको भनाइ थियो ।
ओली सरकारको नेतृत्वमा हुँदा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु हुनुका साथै तीन सयभन्दा बढी घाइते अपाङ्ग भएका छन् । त्यति मात्रै होइन ओली आफ्नो ज्यान जोगाउन सेनाको क्याम्पसमा पुग्नु गरेको थियो । ओली सरकारमा हुँदा भ्रष्टाचार बढ्नुका साथै सुशासनकै खडेरी हुँदा पार्टीलाई नै संकटको अवस्थामा पुर्याएको भन्दै नेतृत्व छोड्नुपर्ने आवाज बढ्दै गएको छ ।
ओली तेस्रो कार्यकाल अध्यक्ष हुन आफू निकट नेताहरूलाई सक्रिय बनाउँदै ललितपुरको गुण्डुबाट सक्रियता देखाएका छन् । भक्तपुरको बालकोटमा रहेको ओलीको घर जेनजीले जलाएपछि पार्टी नेता महेश बस्नेतकै भरोसामा उनी गुण्डुमा पुगेका हुन् । जेनजी आन्दोलनबाट रक्षात्मक हुन पुगेका ओली राजनीतिक रूपमा खुल्लमखुल्ला हिँड्न नसक्ने अवस्था भए पनि पार्टी नेतृत्व कुनै हालतमा छोड्न नहुने पक्षमा पुगेका छन् ।

ओली विपक्षमा उभिएका नेताहरू भने उनी नेतृत्वमा तेहरिएमा पार्टीलाई क्षति हुनुका साथै निर्वाचनमा समेत नराम्रो नतिजा आउने विश्लेषण गर्ने गरेका छन् । त्यति मात्रै जेनजी आन्दोलनमा दोषी भएकाले ओलीलाई कारबाही हुनुपर्ने पार्टी बाहिर आवाज उठ्ने गरेको छ । त्यसैले नेतृत्वमा ओलीलाई रोकेर दोस्रो पुस्ताका नेताहरूले पार्टी हाँक्नुपर्ने वकालत गर्दै आएका छन् । तर, ओली जेल जाने अवस्था आउन सक्ने भएकाले नेतृत्वमा हुँदा प्रतिवाद गर्न सकिने उनको बुझाइ छ ।
ओलीसँग पौठेजोरी खेल्ने नेताहरू अन्तिममा पार्टीबाट निस्किने अवस्था आउने नेकपाभित्रका एमाले नेताहरूको विश्लेषण छ । त्यसका लागि नेकपाभित्रका पूर्वएमाले नेताहरू एमालेभित्र बिग्रह ल्याएर ओलीलाई कमजोर बनाउन भेटघाट र छलफल तीव्रता जारी राखेका छन् । एमालेभित्रका नेपाल पक्ष भनिएका नेताहरू ओलीले पार्टीबाट ननिकालेसम्म लडेरै भए पनि पार्टीमै रहने योजनामा छन् ।
यस्तै, जनार्दन शर्मा, नेत्रविक्रम चन्द विप्लव, घनश्याम भुसाललगायतले बनाउने पार्टीमा जान सकिने एमाले असन्तुष्ट नेताहरूको योजना छ । महाधिवेशनमा ओलीले कस्तो नीति लिन्छन् । त्यसैमा पार्टीको एकताबद्ध कस्तो हुन्छ भन्ने आंकलन गर्न सकिने अवस्थामा देखिएको छ ।