मेलम्ची पीडितसँगको सहमतिलगत्तै सरकारको पहिलो कदम, १७ किमि सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान

0 Shares

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय बासिन्दासँग मंगलबार राति भएको ८ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहिलो सकारात्मक कदम चालेको छ ।

सहमति भएको भोलिपल्टै (बुधबार, कार्तिक २६ गते) सरकारले आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) सम्म पुग्ने सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ ।

सडक डिभिजन चरिकोटले मेलम्ची—अम्बाथान—मेलम्चीघ्याङ सडक खण्डको कुल १७ किलोमिटर सडक स्तरोन्नति गर्नका लागि तीन वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान गरेको हो ।

यसअघि, गत कात्तिक १९ गते मेलम्चीका पीडित स्थानीयले विगतमा सरकारसँग भएका माग र सम्झौताहरू कार्यान्वयन नभएको भन्दै मुहानबाट सुरुङमा पानी पथान्तरण गर्न रोकेका थिए ।

सोही विषयलाई लिएर मंगलबार राति १० बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मेलम्ची सरोकार समितिको बैठक बसेको थियो। बैठकमा ८ बुँदे सम्झौता भएको थियो ।

स्थानीयहरूले सहमतिपछि सरकारको यो पहिलो कदमलाई सकारात्मक रूपमा लिएको बताएका छन् । मंगलबारको सहमतिपश्चात् आज (बुधबार) बाट मेलम्चीको पानी काठमाडौँ पठाउने कार्य समेत सुरु भएको छ ।

सम्बन्धित समाचार