भीम रावलपछि अशोक राई पनि प्रचण्ड-माधवको नेकपामा आउने

0 Shares

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र भीम रावल नेतृत्वको मातृभूमि राष्ट्रिय अभियान पार्टी आउने टुंगो लागेको छ ।

प्रचण्ड-माधव एकता गरेर एउटै पार्टी बनाएपछि रावलपछि राईसमेत एकतामा आउन सहमत भएका हुन् । रावल नेतृत्वको पार्टी कात्तिक २६ गते बुधबार राष्ट्रिय सभामा एकता हुने भएको छ । राई नेतृत्वको पार्टी एकताको मिति तय हुन बाँकी छ ।

रावलको वरियतासहित अरु सबै टुंगो लागेको रावलका स्वकीय सचिव गोविन्द दुवालले बताए । नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्न जसपासमेत एकतामा आउने टुंगो लागेको जसपा एक नेताले बताए ।

‘रावल नेतृत्वको पार्टीसँगै जसपासँग एकता गर्न खोजेका थियौँ, पार्टी नेताको वरियता र नेता व्यवस्थापनमा कुरा मिलेन, अब एकता हुने भयो,’ ती नेताले भने ।

जसपामा अध्यक्ष राईसहित सबै नेता एकतामा आउन नखोज्दा एकता ढिला भएको ती नेताले बताए । जसपा राईको बहुमत भएकाले एकाध नेता मात्रै छुट्ने भएका छन् ।

वार्ता समितिमा नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन, रेखा शर्मा, देव गुरुङ, राजेन्द्र पाण्डेलगायत नेता छन् । जसपाबाट संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष रेनु यादव, रत्नध्वज लिम्बु, महासचिव मोहम्मद इस्तियाक राईलगायत नेता छन् ।

जसपा केन्द्रीय समिति बैठकले वार्ता टोली बनाएपछि एकतका लागि छलफल सुरु भएको हो । जसपा वार्ताले एकताको ठोस आधार बनाएपछि पार्टीको कार्यकारीणी समितिले अनमोदन गर्ने भएको हो ।

प्रचण्ड-माधवले राई नेतृत्व पार्टीसँगै रावल नेतृत्वको पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादीलगायत दलसँग एकता गर्न छलफल जारी राखेका छन् ।

एमालेबाहेक सबै कम्युनिष्ट पार्टीलाई जोडेर बलियो पार्टी बनाउन प्रचण्ड-माधवले निरन्तर छलफल जारी राखेका छन् । प्रचण्ड-माधवले गत कात्तिक १९ गते १० कम्युनिष्ट घटकसँग एकता गरेर एउटै पार्टी घोषणा गरेका थिए ।

यता, नेकपा माओवादी केन्द्र विघटन भएसँगै जनार्दन शर्मा, सुदन किरातीलगायत नेताहरू अलग भएका छन् ।

नेकपा एकीकृत समाजवादी विघटना हुँदा घनश्याम भुसालले आफू नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी गठन गर्ने तयारी गरेका छन् । रामकुमारी झाँक्री किसान श्रेष्ठसहित केही नेताहरू एमालेमै फर्किएका छन् ।

सम्बन्धित समाचार