0
Shares
काठमाडौं । सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाले दिएको सात दिने अल्टिमेटम सकिएसँगै आजदेखि नगरप्रहरी एक्सनमा उत्रिने तयारी गरेको छ।
महानगरका अनुसार पहिलो चरणमा धोबीखोला आसपासका बस्तीमा डोजर चलाइनेछ। यसअघि थापाथलीस्थित गुठी संस्थानको जग्गामा बनेको अवैध मदिरा पसल र हाँडीगाउँ क्षेत्रमा सरकारी जग्गा मिचेर बनेका घर–टहरा भत्काइएका थिए।
नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार नक्सा पास विपरीत तथा सरकारी जग्गामा बनेका संरचनाहरू हटाउने काम दैनिक रूपमा अघि बढाइनेछ।
गत शुक्रबार महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा सात दिनभित्र अतिक्रमित जग्गा खाली गर्न अल्टिमेटम जारी गरेको थियो। सो अवधि सकिएपछि आजदेखि बलपूर्वक हटाउने कार्य प्रारम्भ गर्न लागिएको हो।