पार्टी एकता बारे निर्णय गर्न प्रचण्डले बोलाए सचिवालय बैठक

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी एकताका विषयमा छलफल गर्न (शनिबार) आज दिउँसो ३ बजे सचिवालय बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाएर प्रचण्डले नेताहरुको राय लिन लागेका हुन् ।

पार्टी सचिवालय बैठकमा एमाले बाहेक वामपन्थी शक्तिसँग एकता गर्ने विषयमा छलफल हुने माओवादीका एक नेताले बताए । ‘हामी एमाले बाहेक अरु सबै कम्युनिस्ट क्रान्तिकारी शक्तिलाई एकता गर्न छलफल जारी राखेका छौँ । नेकपा एकीकृत समाजवादी लगायत दलले एकता गर्ने निर्णय गरी सकेका छन्’ ति नेताले भने, ‘पार्टीले एकता घोषणा गर्न मिति र स्थान सहित नयाँ पार्टीको नाम र चुनाव चिन्हका विषयमा निर्णय गर्ने छ ।’

माओवादी सहित एकीकृत समाजवादी लगायत कम्युनिस्ट पार्टीको एकता कात्तिक १८ वा १९ गते एकता घोषणा हुने नेताहरुले बताएका छन् ।

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरी सकेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालपक्षले नजाने घोषणा गरी सकेको छ ।

यस्तै महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी, नेकपा विप्लव समुहबाट सचिवलाय सदस्य चिरन पुनको नेतृत्वको समुह, पूर्व मन्त्री गोपाल किराती नेतृत्वको पार्टीले एकतामा जाने निर्णय गरी सकेका छन् ।
धमेन्द्र बास्तोला नेतृत्वको नेकपा(बहुमत) माओवादीबाट एमालेमा गएका लेखराज भट्ट, मणि थापा लगायत नेतालाई एकतामा ल्याउने गरी छलफल चलाएको ति माओवादी नेताले बताए ।

सम्बन्धित समाचार