यी नेताले छोडे नेतृत्व, ओली प्रचण्डले कहिले छोड्छन् ?

0 Shares

काठमाडौं । जेनजी आन्दोलनले हरेक पार्टीमा नेतृत्व पुस्तान्तरणको बहस तिवृ रुपमा चलाएको छ । पुराना पार्टीका वृद्ध नेताले छोड्न नमानेको बेला केही पार्टीका नेताले नेतृत्व छोडेर पुस्तान्तरण गरी सकेका छन् ।

नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले सबैभन्दा पहिले नेतृत्व छोडेर उदाहरण प्रस्तुत गरेका छन् । बाबुरामले पार्टी नेतृत्व छोडेर बरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई कार्यबहाक अध्यक्ष दिएका छन् । बाबुरामले सक्रिय राजनीतिबाट विदा लिएर पार्टी नेतृत्वबाट विदा लिएको घोषणा गरी सकेका छन् । नेसपामा बाबुराम नेतृत्व पुस्तान्तरण गर्ने पहिलो नेता बन्न सफल भएका हुन् । तत्कालीन नेकपा माओवादी छोडेपछि २०७२ सालदेखि विभिन्न पार्टीमा पार्टीमा रहेर १० वर्ष नेतृत्व गर्दै आएका थिए । जेनजी आन्दोलनपछि बाबुरामले आधिकारिक रुपमा नेतृत्व छोडेर पुस्तान्तरण गरेका छन् ।

यसै बिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई दिएर नेतृत्वबाट विश्रम लिएका छन् । जेनजी आन्दोलनपछि नेतृत्वको बहस मुखरित भएपछि देउवाले खड्कालाई जिम्मेवारी दिएर बाटो खुला गरेका हुन् । कार्यबहाक सभापति खड्काले आगामी १५औं महाधिवेसन गराएपछि नेतृत्वमा पुस्तान्तरण गर्ने नेताहरुले बताएका छन् । देउवा दुई कार्यकाल सभापतिको नेतृत्व गरेपछि जेनजी आन्दोलनमा घाइते भएपछि कार्यबहाक अध्यक्ष खड्कालाई दिएका हुन् । देउवा विभिन्न कालखण्डमा गरेर पाँच पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन् ।

यस्तै नेतृत्व छोड्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य‘किरण’ पार्टी महासचिवबाट राजीनामा दिएका छन् । गत असोस २९ देखि कार्तिक १ गतेसम्म बसेको केन्द्रीय समिति बैठकमा उनले पार्टी महासचिव पदबाट राजीनामा दिएको पत्र पेश गरेका हुन् ।

लामो समय पार्टी नेतृत्वमा रहेका वैद्यले जेनजी आन्दोलनपछि पार्टीका कार्यवहाक महासचिव सिपी गजुरेललाई पद हस्तान्तरण गरेको केन्द्रीय सदस्य इन्द्र राउतले जानकारी दिए । अब पार्टी महासचिवमा गजुरेल हुने भएका छन् ।

‘स्वास्थ्यका कारण महासचिव कमरेड बैठकमा उपस्थित हुन सक्नु भएन, भर्चुअल रुपमा बैठकलाई सम्बोधन गर्नु भयो, बैठकमा महासचिवको राजीनामा पत्र सुनाइयो, बैठकले राजीनामा स्वीकार गरी सिजी गजुरेललाई जिम्मेवारी दियो,’ राउतले भने । बैद्यले २०४३ सालअघि पार्टीको नेतृत्व गरेका थिए । त्यसपछि प्रचण्ड नेतृत्वको माओवादीमा थिए । प्रचण्डसँग अन्तरद्धन्द्ध भएपछि बैद्यले नेकपा माओवादी विभाजन गरी २०६९ सालदेखि निरन्तर नेतृत्व गर्दै आएका थिए ।

निरन्तर नेतृत्वमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ रहँदै आएका छन् । विगत ४० वर्षदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्ड तत्काल नेतृत्व छोड्ने संकेत देखाएका छैनन् । आगामी मंसिरमा महाधिवेसन गर्ने भन्दै केन्द्रीय समिति विघटन गरेर प्रचण्ड संयोजकको जिम्मेवारीमा छन् । अब मंसिरमा हुने नौ महाधिवेसन हो वा विशेष महाधिवेसन टुंगो लागेको छैन ।

प्रचण्ड अझै एक कार्यकाल पार्टी नेतृत्वमा रहेर काम गर्ने गरी सक्रियता देखाएका छन् । प्राय सार्वजनिक कार्यक्रममा प्रचण्डले नेतृत्व छोड्ने बारम्बार घोषणा गरी रहेका छन् । नेतृत्व छोड्ने गरी भने कुनै कदम वा संकेत नदेखाएको नेताहरु बताउँछन् ।

यस्तै जेनजी आन्दोलनमा लखटिएर राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सजिलै नेतृत्व छोड्ने संकेत देखाएका छैनन् । नेकपा एमाले अध्यक्ष ओलीले जेनजी आन्दोलनमा सबैभन्दा बढी टार्गेट हुँदा सेनाले जोगाएर सुरक्षित भएका थिए । जेनजी आन्दोलन शान्त भएपछि ओली पार्टी नेतृत्व छोड्ने कुनै तयारी गरेका छैनन् ।
एमालेले आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा ११ औ महाधिवेसन गर्ने घोषणा गरी सकेको छ । तर, ओली पार्टी नेतृत्वमा तेस्रो पटक अध्यक्ष हुन खोजेका छन् ।

पार्टी नेतृत्वमा आउन खोजेका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आउन नदिन जोडतोडका साथ लागेका छन् । पार्टीका अधिकाश केन्द्रीय सदस्य ओलीको विपक्षमा भए पनि उनको तानाशाही प्रवृत्तिले सबै चुपचाप छन् । ओली जतिसुकै कठिन अवस्था भए पनि अझै पार्टी नेतृत्व सजिलै छोड्ने संकेत देखाएका छैनन् ।

यसैबिच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निरन्तर नेतृत्वमा छन्। तत्कालीन एमालेमा १६ वर्ष नेतृत्व गरेका थिए । तत्कालीन नेकपा विभाजन भएपछि नेपालले आफ्नै नेतृत्वमा एकीकृत समाजवादी गठन गरेका थिए । जेनजी आन्दोलनपछि समेत नेपाल नेतृत्व छोड्ने तयारी गरेका छैनन् ।

नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा मसालमा महामन्त्री मोहनविक्रम सिंह, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, नेकपा महासचिव नेत्रविक्रम चन्द लगायत नेताले निरन्तर नेतृत्व गर्दै आएका छन् । पार्टी नेतृत्वमा आएदेखि ती नेताले सजिलै नेतृत्व छोड्ने अवस्था देखिएको छैन ।

 

सम्बन्धित समाचार