ठगेर हिँड्नेलाई कुनै हालतमा नछोडौँ, रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँः प्रधानमन्त्री कार्की

0 Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधान गर्न उच्चस्तरीय छलफल मार्फत पहल लिएकी छन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बैठकमा प्रधानमन्त्री कार्कीले ठगीमा संलग्नहरूलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने भन्दै कडा निर्देशन दिएकी हुन् ।

छलफलमा सहकारी मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्कटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी र सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

प्रधानमन्त्रीको कडा निर्देशन

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले ठगी गर्नेहरूलाई कानुनको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पारिन् ।

“ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन। यिनीहरू सुनका घडी लगाएर हिँड्छन्, महँगा गाडी चढेर हिँड्छन्, नक्कली डिभोर्स गराएर हिँड्छन्। उनीहरूलाई छाड्न मिल्दैन,” प्रधानमन्त्रीले भनिन्, “बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौँ। जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ ।”

उनले यो सरकारको मुख्य कार्यभारमध्ये सहकारी समस्या समाधान गर्नु रहेको भन्दै तत्काल काम थाल्न निर्देशन दिइन् । सहकारी ठगीमा परेकाहरूको बचत फिर्ताका लागि ठगी गर्नेहरूको घरजग्गा लिलाम गरेर भए पनि पीडितलाई न्याय दिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिइन् ।

“पीडितचाहिँ सडकमा रोएर हिँड्ने, अनि जो ठग हो त्योचाहिँ सुकिलो मुकिलो भएर हिँड्ने, यस्तो हुनु हुँदैन। यो सभ्य समाजको परिचय होइन,” उनले भनिन्, “उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि, विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नुपर्छ।”

सम्बन्धित समाचार