काठमाडौं । नेकपा एकीकृत समाजवादीले विचार मिल्ने पार्टीसँग एकता गर्न वार्ता टोली बनाएको छ ।
पार्टीको बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्ष डा.बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली बनाएको हो । आगामी निर्वाचनलाई लक्षित गर्दै विचार मिल्ने पार्टीसँग एकता गर्न उपाध्यक्ष भुसालको नेतृत्वमा वार्ता टोली बनाएको पोलिटब्युरो सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
भुसाल नेतृत्वमा को को नेता सहभागी हुने भन्ने बारेमा टुङ्गो नलागेको चौधरीले बताए । पार्टी एकता गर्न एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी लगायत दलसँग छलफल अघि बढाएको छ ।
माओवादी एकता गर्न वार्ता टोली बनाउने निर्णय यसअघिको स्थायी समिति बैठकले निर्णय गरेको थियो । पार्टी एकताका विषयमा उपाध्यक्ष कृष्णबहादुर महरा सहितका नेताहरू भेटघाट जारी राखेका छन् । यस्तै विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा एकता गर्न वार्ता टोली गठन गरी सकेको छ ।
जसमा सचिवालय सदस्य कर्णजीत बुढाथोकी, अनिल शर्मा लगायत नेताहरू सहभागी छन् । तत्काल समाजवादी मोर्चामा सहभागी दलहरू एकता गर्न छलफल अघि बढाएका छन् । जेनजी आन्दोलनबाट पुराना दल रक्षात्मक भएपछि एकता गरेर बलियो हुने योजनामा लागेका हुन ।