काठमाडौं । प्रदर्शनकारीको चर्को आक्रमणसँगै सत्ता छाडेर भागेका निर्वतमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीको शान्तिपूर्ण प्रदर्शनमा स्वचालित हतियारबाट गोली चलेको दाबी गरेका छन् । उनले प्रहरीसँग नभएको हतियारबाट गोली चलेको बताउँदै छानबिन गर्न माग गरे ।
संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले प्रदर्शनमा घुसपैठ भएको दाबी गरे । उनले प्रर्दशनमा षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप लगाए ।
ओलीले भने, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ ।’
उनले घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।
ओलीले हालैका घटनामा सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयमा भएको तोडफोड र आगजनीलाई षड्यन्त्रको संज्ञा दिए ।