जेनजीको आक्रमणपछि पुनः निर्माणमा जुट्यो कामना सेवा विकास बैंक

0 Shares

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरको पुनः निर्माण गर्ने भएको छ ।

जेनजीको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट भएको भूमि सुधार तथा मालपोत कार्यालय, मोरङको कार्यालय मर्मत सम्भारसमेत गर्ने भएको छ ।

मालपोत कार्यालय विराटनगरका तर्फबाट मालपोत अधिकृत अजय राजवंशी र बैंकका तर्फबाट कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुसालले पुनः निर्माणको लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

हाल, कार्यालय जलेर नष्ट भएको विवरण संकलनको कार्य भइरहेको र विवरण संकलन पश्चात पुनः निर्माणको काम सुरु हुने बैंकले जनाएको छ ।

साथै, आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय पथरीका उपकरणसहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको र कार्यालय सञ्चालन असम्भव हुने अवस्थामा, तत्काल आवश्यक कम्प्युटर बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी तुलसी प्रसाद अर्याललाई हस्तान्तरण गरे ।

यस अवसरमा डिएसपी अर्यालले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा भएको अवस्थामा बैंकले उपलब्ध गराएको कम्प्युटरले अत्यन्तै ठूलो सहयोग पुगेको भन्दै आभार प्रकट गरे ।

त्यसैगरी, बैंकका प्रदेश प्रमुख भुसालले कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समुदायमुखी गतिविधि गर्दै आएको उल्लेख गर्दै पथरीस्थित इलाका प्रहरी कार्यालयलाई सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

उक्त हस्तान्तरण कार्यक्रममा प्रहरी अधिकृत, बैंकका कर्मचारीको उपस्थिति रहेको थियो । बैंकले अन्य स्थानका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालय पुनः निर्माण तथा मर्मत सम्भार गर्नको लागि सहकार्य गर्ने जनाएको छ ।

सम्बन्धित समाचार