काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरो मनी म्यागाजिनका प्रतिनिधिले बैंकका संचालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरे ।
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्य सम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।
युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्याति प्राप्त तथा अनुभवी व्यक्तिहरू छन् । यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेश्रो पटक बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो ।
यसअघि ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेष्ट बैंकको रुपमा सम्मानित भएको थियो ।
ग्लोबल आइएमई बैंक मुलुकको सबै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।