काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लि.को नेतृत्वमा सात अर्ब २० करोड बराबरको जलविद्युत परियोजनाका लागि लगानी व्यवस्थापन भएको छ । लगानी गर्नेहरूमा सिटिजन्ससहित नबिल, नेपाल इन्भेष्टमेण्ट मेगा, सिद्धार्थ र सानिमा बैंक रहेका छन् ।
यी बैंकहरूको सवा सात अर्ब लगानीमा ४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत परियोजना बन्ने भएको हो । सोमबारको प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रा.लि. एवं लगानीकर्ता बैंकहरूबीच वित्तीय व्यवस्थापनबारे सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ ।
यस परियोजना रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा निर्माण हुनेछ । परियोजनाको अनुमानित लागत करिब ९ अर्ब ६० करोड हुनेछ । जसमध्ये बैंकहरूले ७५ प्रतिशतको ऋण बराबरको ७ अर्ब २० करोड लगानी गर्ने भएको हो ।
जसमा सिटिजन्स बैंकले दुई अर्ब ५० करोड, नबिल बैंकबाट एक अर्ब ५० करोड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एक अर्ब २० करोड, सिद्धार्थ बैंकबाट एक अर्ब र सानिमा बैंकबाट एक अर्ब लगानी हुनेछ । बाँकी २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकबाट जुटाइने छ ।
परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बाफिकोटस्थित सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ९८.७२७ गिगावाट घन्टा र वर्षायाममा १८२.११३ गिगावाट गरी वार्षिक २८१.११३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।
सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापना कालदेखि एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकसँगको सह वित्तीयकरण कर्जामार्पmत जलविद्युतलगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको बताए ।
सिटिजन्स् बैंकले हालसम्म १४ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, १४ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ ।
प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्टका तर्फबाट अध्यक्ष अंगिस घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए ।
सिटिजन्स बैंकले विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको छ । यस बैंकले देशभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइबाट १९ लाख ३० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।