काठमाडौं । सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने एक सय रुपैयाँ अंकित दरका २४ लाख कित्ताले हुन आउने २४ करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ ।
यसका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास सिलवालले हस्ताक्षर गरेका छन् ।
सनराइज होल्डिङ्गस् लिमिटेड २०७१ सालमा स्थापित नेपाली लगानी कम्पनी हो । जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि शेयर निष्काशन गर्न लागेको हो ।