काठमाडौं । माछापुच्छ्रे बैंक गत आर्थिक वर्षको मुनाफबाट लाभांश घोषणा गर्ने पहिलो बाणिज्य बैंक बनेको छ । भदौ १३ गते शुक्रबार बसेको संचालक समिति बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०८१-८२ को खुद नाफाबाट ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरी जम्मा ८ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले शेयरधनीलाई वितरण गर्नेछ ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ । ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर आमदानी १७ रुपैयाँ ३१ पैसा पुगेको छ।