रास्वपा सांसद निशा डाँगी भन्छिन्,– यसपालिको व्रत सभापतिज्यूको रिहाइका लागि

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ निशा डाँगी हरेक वर्ष तीजमा पशुपतिनाथ मन्दिरमा पुग्ने गर्छिन् । आज पनि उनी परम्परा धान्दै परिवारका सदस्यहरूसहित मन्दिर दर्शन गर्न गइन् । रास्वपाकी समानुपातिक सांसदसमेत रहेकी निशा ‘कान्छी माननीय’ का रूपमा परिचित छिन् । उनी अविवाहित हुन् । पशुपति मन्दिरमा पुग्दा उनी रातो सारी र फुल मेकअपमा निकै खुलेकी थिइन् । केही घन्टा लाइन बसेर उनले पशुपतिनाथ दर्शन गरिन् । चिन्नेहरूले उनीसँग फोटोरसेल्फी खिचे ।

निस्किने क्रममा सञ्चारकर्मीको नजरमा परिन् निशा ।  निशाले अघिल्ला वर्षहरूको तुलनामा यसपालि छिटो पालो आएको बताइन् । यद्यपि, सांसद भनेर आफूले कुनै सुविधा र सहुलियत नलिएको उनको भनाइ थियो । ‘म हरेक वर्ष परिवारसहित आउँछु र लाइन बसेर दर्शन गर्छु । यसपालि पनि त्यहीँ गरेँ । सांसद हुनासाथ बेग्लै सेवा सुविधा चाहिन्छ जस्तो लाग्दैन ।’ उनले भनिन् ।

उनले तीजमा व्रत पनि बसेको जनकारी गराइन् । यसपालिको तीजमा आफ्नो पार्टी रास्वपा र सभापति रवि लामिछानेको लागि व्रत बसेको उनको भनाइ छ ।

निशाले भनिन्, ‘म सबैको मङ्गल कामना गरेर व्रत बस्छु । अहिले हाम्रो पार्टी सभापति कारागारमा हुनुहुन्छ । यसपालिको व्रत उहाँको रिहाइ र हाम्रो पार्टीको उत्तरोत्तर प्रगतिको कामनासहित बसेको छु ।पशुपतिनाथले पक्कै पनि सभापतिज्यू र हाम्रो पार्टी रास्वपालाई कृपा गर्नु हुनेछ । उच्च अदालतले सभापतिज्यूलाई रिहाइ गर्ने ठूलो आशा छ ।’

सम्बन्धित समाचार