जातीय विभेद गरी गर्भवती पत्नी छाडे, छोराको जन्मदर्ता नबनाएपछि पक्राउ

0 Shares

गोरखा । जातीय विभेद गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका २ मलेखु घर भएका २२ वर्षीय मिलन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

श्रेष्ठले गोरखाको सहिदलखन गाउँपालिका १ बक्राङ माइती भएकी मनिका परियारसँग विवाह गरेका थिए । गर्भवती भएपछि उनले पत्नी दलित समुदायकी भएको भन्दै हेलाहोचो गर्नुका साथै विभेद गरेको आरोप छ । उनीबाट जन्मिएको छोराको जन्मदर्तासमेत नबनाएको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

पीडित परियारले न्याय माग्दै जिल्ला प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको डिएसपी सुवेदीले बताए । उनका अनुसार श्रेष्ठलाई आइतबार धादिङ प्रहरीको समन्वयमा गजुरी गाउँपालिका ६ राम्चेबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठमाथि आज जिल्ला अदालत गोरखाबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

अन्तरजातीय विवाह गरेकी मनिका परियार घरबाट निकालिइन्, पतिले पनि छाडे

सम्बन्धित समाचार