पार्टी एकताः समाजवादी मोर्चाका दलहरू आ-आफ्ना कमिटीमा छलफल गर्दै

0 Shares

काठमाडौँ । नेकपा एमाले बाहेक सम्मिलित समाजवादी मोर्चामा आबद्ध पार्टीहरू एकताका विषयमा छलफल गर्न लागेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव, नेपाल समाजवादी लगायत दलले आ आफ्नो कमिटीमा छलफल गर्न लागेका हुन् ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेर एकता गर्न वार्ता समिति बनाउने निर्णय गरी सकेको छ । यसअघि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति बनाएर छलफल गरेको थियो । त्यति बेला कुनै प्रगति नभएपछि फेरी विप्लवसँग एकता गर्न वार्ता समिति बनाएर टुंगो लगाउने तयारी गरेको छ । उपाध्यक्ष महराले विप्लव नेतृत्वको नेकपासँग एकता गर्न वार्ता समिति बनाएर एकताको विषयमा छलफल गर्ने तयारी गरेको प्रतिक्रिया दिए । यद्यती वार्ता समिति कसको नेतृत्वमा बन्ने भन्ने सवालमा निर्णय भई नसकेको उनले बताए ।

यस्तै एकीकृत समाजवादीले पार्टी एकता सहित विविध राजनीतिक विषयमा छलफल गर्न भदौ अन्तिम साता बैठक बोलाएको छ । एकीकृत समाजवादीले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएको नेता दिलु पन्तले जानकारी दिइन ।

आगामी भदौ २५ गते स्थायी समिति, भदौ २६ गते पोलिटब्युरो बैठक र भदौ २७ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएर विचार मिल्ने पार्टीसँग एकता वा सहकार्यका विषयमा छलफल हुने उनले बताइन । पार्टीका अधिकांश नेता कार्यकर्ता तत्काल कुनै शक्तिसँग एकता गर्ने भन्दा मोर्चा मार्फत सहकार्य गर्दै जानुपर्ने तर्क गर्दै आएका छन् ।

यस्तै विप्लव नेतृत्वको नेकपाले भदौ अन्तिम साता बैठक बोलाएर छलफल गर्न लागेको एक नेताले जानकारी दिए । आगामी भदौ २३ गतेदेखि केन्द्रीय समिति बैठकमा नेताहरूको धारणा बुझेर एकताको विषयमा निर्णय हुने ती नेताले बताए । यसअघि समेत नेकपाले माओवादीसँग एकता गर्न बैठकबाटै निर्णय गरेको थियो ।

त्यस निर्णयमा माओवादीले त्यसमा कुनै प्रक्रिया अघि नबढाएपछि नेकपा चिढिएको थियो । त्यसपछि नेकपा एकता नगरेर एजेन्डा मिल्नेसँग सहकार्य गर्दै जाने नीति लिएको थियो । अहिले फेरी माओवादीले एकता गर्न वार्ता समिति बनाएपछि नेकपा झस्एिको छ । एकता गर्न वार्ता समिति बनाएको वा झुक्काउन गरिएको चल हो भन्ने विषय चाल पाउन सकेको छैन । अब बस्ने नेकपा बैठकले एकताका विषयमा ठोस निर्णय गर्ने अपेक्षा लिएको छ ।

सम्बन्धित समाचार