काठमाडौं । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री बस्ती-बस्तीमा पुगेर जनगुनासो सुन्ने अभियानलाई तीव्र पारेका छन् ।
गत साउन १७ गतेदेखि सुरु भएको अभियान वडा नं. २, ४, ६ र ७ का विभिन्न बस्तीमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष क्षेत्रीले जानकारी दिए । अभियानअन्तर्गत त्यहाँका स्थानीयबासीसँग उनले विकास निर्माण, वडा र गाउँपालिकाले गर्ने योजनासँगै पालिकालाई समृद्ध बनाउन नागरिकको सुझावबारे छलफल गरेका छन् ।

‘खास नागरिकहरुको समस्या के होरु उनीहरु के चाहान्छन् र पालिकाले के गरिरहेको छ ? भन्ने कुरा बुझ्न बस्तीमै पुग्नुपर्छ,’ उनले भने, ‘गुनासो सुन्ने अभियानपछि नागरिकका धेरै समस्या पहिचान भएका छन्, ती समस्या समाधान गर्ने विषयमा पालिकाले ठोस निर्णय गर्छ ।’
स्थानीयबासीले आफ्नो टोलबस्तीका बारेमा राखेका विकासका मागलाई आवश्यकताको आधारमा क्रमिक रुपमा पूरा गर्दै जाने अध्यक्ष एमसीले प्रतिवद्धता जनाएका छन् । पालिकाका जनप्रतिनिधिले टोलबस्तीमै पुगेर गुनासो सुन्ने कार्यक्रमको थालनी एमसीले पहिलोपटक गरेको स्थानीयबासीले बताएका छन् ।
अभियानलाई आठ वटै वडाका बस्तीमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष एमसीले बताए । नागरिकका गुनासा र सुझाव सुनिसकेपछि समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गरिने उनको भनाइ थियो ।