पार्टीभित्र दबाबमा प्रचण्ड–माधवः पार्टी एकताको पासा

0 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आफ्नो पार्टीभित्र कठिन अवस्थामा पुगेपछि पार्टी एकताको विषयले प्रवेश पाएको छ ।

प्रचण्डलाई पार्टी उपमहासचिव जनार्दन शर्माले दबाबमा राखेका छन् भने नेपाललाई सम्मानित नेता झलनाथ खनालले प्रेसरमा राख्दै आएका छन् । पार्टीमा अफ्ठ्यारो महसुस गरेका यी नेताहरूले आफूलाई सहज बनाउन पार्टी एकताको पासा फालेका हुन् ।
सुरुमा नेपाल पार्टी एकता नगरी समाजवादी मोर्चामा सहकार्य गर्दै गएर एकतामा रुपान्तरण गर्ने पक्षमा थिए। प्रचण्डले निरन्तर भेटेर तत्काल एकता गरेर जान नेपाललाई प्रस्ताव गरेपछि एकताको विषयले प्रवेश पाएको हो ।

प्रचण्ड निवास खुमलटार र माओवादी संसदीय दलको कार्यलयमा पटक–पटक छलफल गरेपछि एकता गर्ने अवस्थामा पुगेको माओवादीका एक नेताले जानकारी दिए । प्रचण्ड–माधवले पार्टी एकताको विषयमा छलफल गरेपछि दुवै पार्टीका दोस्रो तहका नेताहरू एकताका लागि निरन्तर भेटघाट जारी राखेका छन् । यद्यती एकताले मुर्त रुप पाइसकेको छैन ।

गत शुक्रबार माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवन पुगेर एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी एकीकरणबारे छलफल गरेका थिए। दुई नेताबीच एक घण्टा भएको छलफलमा पार्टी एकताको मोडालिटीबारे छलफल भएको बताइएको छ ।

लगत्तै, आइतबार नेता श्रेष्ठ एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई भेट्न उनकै निवास डल्लु पुगेका थिए। दुई नेताबीच पार्टी एकताबारे छलफल भएको श्रेष्ठ जानकारी दिए । दुई नेताबिच पार्टी एकता कम्युनिस्ट आन्दोलन लगायत विविध विषयमा छलफल गरेका हुन् ।

आफ्नो पार्टीभित्रै अफ्ठ्यारो अवस्थामा रहेका प्रचण्ड–माधव एकता गरेर बलियो बनाउने ध्यानमा लागेका छन्। त्यसमा प्रचण्ड–माधवको रणनीति बुझेका दोस्रो तहका नेताहरु एकताको पक्षमा नभए पनि नेतृत्वले दिएको जिम्मेवारी बमोजिम भेटघाट जारी राखेका छन् ।

यसअघि अध्यक्ष नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा मुद्दा दायर गरेपछि सम्मानित खनालले अध्यक्ष पदबाट राजीनमा दिन दबाब दिएका थिए। योसँगै नेपाल पार्टीभित्र रक्षात्मक अवस्थामा पुगेका छन् । उक्त अडान खनालले यथावत राखेका छन् ।

उता, प्रचण्ड पनि निरन्तर चार दशकसम्म पार्टी नेतृत्वमा रहेकाले पार्टीभित्रै आलोचना खेप्न बाध्य भएका छन्। शर्मा लगायत पार्टी सचिव राम कार्की, अन्जना विसङ्ख्य लगायत नेताहरु प्रचण्डको विपक्षमा उभिएका छन् । जनयुद्ध कालीन अवस्थादेखि नेकपासम्म सहकार्य गरेका नेता संकटमा परेपछि पछिल्लो समय फेरी एक ठाउँमा आएका छन् । दुई पार्टीबीच एकताको प्रवेश पाएको हो । यी दुई पार्टीबीच एकताको ठोस एजेण्डामा प्रवेश गर्न बाँकी छ ।

माओवादीले समाजवादी मोर्चाभित्रकै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्न स्थायी समितिको बैठकले वार्ता समिति बनाउने निर्णय गरिसकेको छ । उक्त विषयमा नेकपाले आगामी केन्द्रीय समितिको बैठकमार्फत निर्णय गर्ने जनाएको छ।

यसअघि नेकपाले माओवादीसँग एकता गर्न बैठकबाट निर्णय गराएको थियो। योबीचमा विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर नेकपा एमालेसँग चुनावी सहकार्य गर्ने आश्वासन पाएका थिए। जसका कारण विप्लव माओवादीको निर्णयमा उत्साहित हुन सकेका छैनन्।

सम्बन्धित समाचार