काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेसनबाट नेतृत्वमा पुग्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा माहोल बनाएकी थिइन् । पार्टीमा फर्किने सक्रियतासँगै एमाले सचिवालयदेखि स्थायी समिति बैठकसम्मको निर्णयले उनलाई आगामी महाधिवेसनबाट नेतृत्वमा फर्किन नसक्ने गरी सबै बाटो बन्द गरिदिएको छ ।
एमाले सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलगायत नेताहरु सशक्त रुपमा लागेका थिए । स्थायी समिति बैठकमा विद्याको पक्षमा नेताहरू थप खुल्नुपर्नेमा कर्णबहादुर थापा र गोकुल बास्कोटालगायत केही सिमित नेता मात्रै खुलेपछि अल्पमतमा परेकी थिइन् । एमाले सचिवालय, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा विद्याको अल्पमत भएसँगै एमाले महाधिवेसनबाट नेतृत्वमा पुग्ने आकांक्षामा तत्कालका लागि पूर्ण विराम लागेको हो ।
एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरमा विधान महाधिवेशन गर्दै छ । यस महाधिवेशनमा विद्या सहभागी हुन नपाउने भएपछि सक्रिय पार्टी राजनीतिको गतिविधिबाट हराउने देखिएको छ । यदि, विद्या विधान महाधिवेशनमा सहभागी हुन पाएकी थिइन् भने अवस्था फरक हुन सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
एमालेको आगामी महाधिवेशनमा पूर्वराष्ट्रपतिसमेत रहेकी विद्या भण्डारी हराउँदै जाँदा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली थप बलियो हुँदै गएका छन् । एमालेमा ओलीलाई मन नपराउने तप्काका नेताहरू बढी भए पनि विद्या कमजोर भएपछि सबै खेल सकिएको ओली पक्षका नेताहरु बताउँछन् ।
योसँगै आगामी महाधिवेशनबाट अध्यक्षमा ओली तेस्रो पटक हुने सम्भावना बढ्दै गएको छ । योसँगै उनी पक्षका नेताहरु ओलीबिना एमालेको कल्पना गर्न नसकिने अभिव्यक्तिमा उत्रिएका छन् । पार्टी अध्यक्ष ओली आफै भएकाले महाधिवेशन प्रतिनिधिमा आफू अनुकुल प्रतिनिधि ल्याउन कुनै समस्या नहुने अवस्था छ ।

ओली तेस्रो पटक अध्यक्ष हुने अवस्था बलियो हुँदै गएसँगै विद्या पार्टी राजनीतिलाई चुनौती दिने झिनो आशाका साथ सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने तयारीमा छिन् । उनले बिहीबार मात्रै आफ्नै श्रीमानसमेत रहेका तत्कालीन एमाले महासचिव मदन भण्डारीको नाममा सञ्चालन भएको मदन भण्डारी फाउन्डेसनका लागि सम्पर्क कार्यालय खोलेकी हुन् ।
संयोग मान्नुपर्छ, विद्याले अहिले सम्पर्क कार्यालय राख्नका लागि रोजेको थापागाउँमा रहेको उक्त घर २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए । भण्डारीले यही घरबाट २०४८ मा काठमाडौं १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै चुनाव जितेका थिए ।
विद्याले एमालेभित्र आफ्नो कुनै अस्थित्व नपाएको अवस्थामा अध्यक्ष ओलीले असन्तुष्ट नेताहरुलाई भेटेर अधिकांशको व्यवस्थापन गरिसकेका छन् । सत्तामा ओली आफै भएकाले सरकार र पार्टी नेतृत्वमा बुझाएर लैजाने आश्वासन दिएपछि विद्याको पक्षमा खुलेका नेतहरुको स्वर समेत मधुरो हुन थालेको छ ।
विद्याका सबै तुरुप बेकाम
दुई कार्यकाल देशको सबैभन्दा उच्च तहको पद राष्ट्रपति बनेकी विद्या पार्टी राजनीतिमा फर्किने भएसँगै एमालेभित्र धुव्रीकरण हुने संकेत बनेको थियो । नेताहरू ओलीको विरोधमा देखिन थालेका थिए ।

पार्टी राजनीतिमा फर्किनुअघि उनी देश दौडाहमा हिँडेकी थिइन् । आफू देशभर यात्रा गरिरहँदा थोरै माहोल आफ्नो पक्षमा आएसँगै उनी छिमेकी मुलुक चीन भ्रमणमा पुगेकी थिइन् । जहाँ उनी पूर्वराष्ट्रपतिको हैसियतभन्दा एमालेको नेताको भूमिकामा पुगेकी थिइन् ।
यस्तै, उनी नेकपा माओवादी केन्द्र र एमालेसँग विभाजित भएको नेकपा एकीकृत समाजवादीका नेताहरूसँग भेटवार्तामा व्यस्त भएकी थिइन् । यसबाहेक उनी काठमाडौंका मेयर बालेन शाहदेखि सर्वसाधरणको धारणा बुझ्ने कामलाई तीव्रता दिएकी थिइन् ।
उनले पटक–पटक पार्टी अध्यक्ष ओलीसँग भेट गरी आफू सक्रिय राजनीतिमा फर्किने धारणा राखेकी थिइन् । यस क्रममा उनीहरूबीच सहमतिसमेत भएको थियो । बालुवाटारमा पटक पटक भेट गरेका ओली-विद्या अन्नतः एमाले पार्टी कार्यालय च्यासलसम्म पुगेका थिए ।
च्यासलबाट मुस्कुराउँदै फर्किएका उनीहरू अन्तमि अवस्थासम्म आइपुग्दा सहकार्य गरेर जाने निर्णयसम्म पुगेको देखिन्छ । तर, एमालेको सबै बैठकले विद्यालाई रोक्ने काम भएसँगै उनले पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्न बाध्य भएकी थिइन् ।

सत्ता सहकार्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्री ओलीलाई विद्याको सक्रिय राजनीतिबारे प्रश्न गरेका थिए । यसैबीच ओली विद्याको बाटो बन्द गर्नका लागि हरेक बैठकबाट निर्णय गराउन सफल भएका हुन । योसँगै तत्कालका लागि पार्टी राजनीतिमा फर्किने विद्याको सपनामा तुसारापात भएको छ ।