कक्षा १२ को नतिजामा झिमरुक जिल्लाकै उत्कृष्ट

0 Shares

प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका शैक्षिक सत्र २०८१ सालको सामुदायिक विद्यालयबाट कक्षा १२ को परीक्षामा जिल्लामै उत्कृष्ट भएको छ ।

गाउँपालिकामा कुल ६०.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा सार्वजनिक नतिजाअनुसार पालिकाका सामुदायिक विद्यालयबाट जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेका हुन् ।

परीक्षा गत वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो। सर्वाजनिक नतिजाअनुसार झिमरुक गाउँपालिका उत्कृष्ट भएको हो ।

झिमरुक गाउँपालिका २, सर्वोदय माध्यमिक विद्यालय गडेरेपानी पालिकासँगै जिल्लामै प्रथम भएको शिक्षा शाखा प्रमुख पुष्प रानाले जानकारी दिए । उनका अनुसार पालिका दोस्रो बलभद्र माध्यमिक विद्यालय २ सिलिङ्गे, तृतीय सत्य माध्यमिक विद्यालय ७ तुषारा भएको बताए । पालिकामा कक्षा १२ सम्म पढाइ हुने पाँच वटा सामुदायिक विद्यालय छन् ।

मंगलबार गाउँपालिकाभित्र रहेका पाँच वटा सामुदायिक माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी भएका विद्यार्थी जिल्लामै उत्कृष्ट भएको भन्दै पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सफलताको शुभकामना दिए ।

पालिकामा शैक्षिक गुणस्तर सुधार हुनुमा स्थानीय सरकारको भूमिका, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको अथक मेहनत र विद्यार्थीको परिश्रममा सम्भव भएको उनको भनाइ थियो । उनले भने, ‘थप सुधार गर्न सबैको सहकार्य अझै कसिलो बनाउनुपर्छ ।’

गाउँपालिकाले आफ्नो पालिकामा रहेका सबै तहको शिक्षालाई निःशुल्क बनाएको छ।

सम्बन्धित समाचार