काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतीका रूपमा देखिएको बताएका हुन् ।
‘लागुऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पत्ति गर्छ । त्यसैले हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागू गरेका थियौँ । त्यो अभियान सार्थक भएको छ,’ उनले भने ।
विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए । ‘आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौतीको सामना गर्नुछ । स्रोत साधानको कमी भए पनि धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ,’ उनले भने । लागुऔषधको बिगबिगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।