रुपन्देही । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानपछि कर्णाली विकास बैंक घोटालामा संलग्न ठहरिएका १११ जनाविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
बाँकेको नेपालगन्जमा रहेको उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा जिल्ला सरकारी वकिल कार्यालय बाँकेले आज बुधबार अभियोग पत्र दायर गर्न लागिएको हो ।
तीमध्ये धेरैजसो बैंकका सञ्चालक र कर्मचारी छन् । कर्जा अपचलनमा संलग्नहरूलाई समेत प्रतिवादी बनाइएको छ ।
बाँके जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता गोविन्दबहादुर शाहीले कर्णाली विकास बैंक घोटालामा दोषी देखिएकामध्ये चार जना पक्राउ परिसकेको र १०७ जना फरार रहेको र उनीहरुविरुद्ध आज दिउँसोसम्म मुद्दा दर्ता हुने बताए ।
सवा तीन अर्ब बिगो
उक्त घोटालामा तीन अर्ब २० करोड ११ लाख रुपैयाँ बराबरको बिगो कायम गरिएको छ । मुद्दामा पक्राउ परेकामध्ये प्रमुख चार जनामध्ये बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य तथा पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत र बैंकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी रहेका छन् ।
सिआइबीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धान सकिएसँगै केही दिनअघि प्रतिवेदन बुझाएको सीआईबीले जनाएको छ ।
पूर्वअध्यक्ष पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन् । मिश्र २०६६ देखि २०७५ सालसम्म बैंकको अध्यक्ष थिए । २०७४ सालको निर्वाचनमा उनी बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत बनेका थिए । अर्का अभियुक्त राजेन्द्रवीर राय पनि एमालेकै उम्मेदवार थिए ।