काठमाडौँ । चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले नेपालको सिन्धुलीको मारिण–४ मा २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति पाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत यस सम्बन्धमा जानकारी दिएका हुन् । उनका अनुसार उद्योग विभागबाट उक्त उद्योग स्थापना गर्न २० अर्ब रुपैयाँ लगानीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।
चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका–४ सिन्धुलीमा उक्त उद्योग स्थापनाको प्रस्ताव गरेको हो । उद्योगले वार्षिक २ लाख टन मासु र ५५ हजार टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको उत्पादन) गर्ने लक्ष्य राखेको प्रधानमन्त्री ओलीले जनाएका छन् ।
यो उद्योगले ५ हजार १ सय ५६ जनालाई रोजगारी दिने भएको छ । उद्योगबाट वार्षिक डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात हुनेसमेत प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
यो उद्योगले वार्षिक दुई लाख मेट्रिक टन भैंसीको मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको लगायत) उत्पादन गर्ने लक्ष्य राखेको छ। यस परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै नेपालको निर्यात व्यापारमा पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।