च्याम्पियन्स लिग क्वाटरफाइनलमा आज रियल म्याड्रिड र म्यानचेस्टर सिटी भिड्दै

0 Shares

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका पहिलो लेगका खेलहरु आज देखि सुरु हुँदै छन् । आज राती १२:४५ बजे सुरु हुने पहिलो क्वाटरफाइनलमा साविक विजेता म्यानचेस्टर सिटीले १४ पटकको विजेता रियल म्याड्रिडविरुद्ध खेल्नेछ । खेल रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।

म्यानचेस्टर सिटीले अन्तिम १६ मा डेनिस टोली एफसी कोपनहेगन विरुद्ध समग्रमा ६-२ को जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको थियो । पहिलो र दोस्रो लेग दुवै ३-१ को स्कोरलाइनमा सकिएका थिए ।

यस्तै रियल म्याड्रिडले भने आरबी लाइपजिग लाई पाखा लगाउँदै अन्तिम आठमा स्थान बनाएको हो । समग्रमा सो टाई २-१ ले रियलले आफ्नो पोल्टामा पारेको थियो । पहिलो लेग रियलले १-० जितेको थियो भने दोस्रो लेग १-१ को बराबरीमा सकिएको थियो ।

यस्तै सोही समयमा हुने अर्को क्वाटरफाइनल खेलमा इंग्लिश क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिख भिड्ने छन् । पहिलो लेगको खेल आर्सनलको घरेलु मैदानमा हुनेछ ।

आर्सनलले पोर्चुगिज क्लब एफसी पोर्टो माथि टाईब्रेकरमा जित निकाल्दै क्वाटरफाइनल पुगेको थियो । समग्रमा दुई लेग १-१ को बराबरीमा सकिएको थियो । पहिलो लेग पोर्टोले १-० ले जितेको थियो भने दोस्रो खेल आर्सनलले १-० ले जितेको थियो । शूटआउटमा भने आर्सनल ४-२ ले विजयी भयो ।

यस्तै बायर्नले भने इटालियन क्लब लाजियोलाई समग्रमा ३-१ ले हराउँदै अन्तिम आठमा स्थान बा आएको थियो । पहिलो लेग १-० ले हारेपनि दोस्रो लिगमा पुनरागमन गर्दै ३-० को जित निकालेर बायर्न अन्तिम आठमा पुग्न सफल भएको हो ।

यी दुई टाईका विजेताले सेमिफाइनलमा एकअर्का विरुद्ध खेल्नेछन् । च्याम्पियन्स लिगमा अन्य दुई क्वाटरफाइनल खेल भोलि हुने छन् ।

सम्बन्धित समाचार