एमालेमा ७० वर्षे हद र दुई कार्याकालको व्यवस्थाबारे पोलिटब्युरोमा छलफल

0 Shares

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि आज पनि पोलिटब्युरो सदस्यहरूले आफ्नो धारणा राख्ने छन् ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार शुक्रबार बोल्न बाँकी पोलिटब्युरो सदस्यहरूले आज विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि धारणा राख्ने छन् ।

शुक्रबार सात जना पोलिटब्युरो सदस्यले विधान संशोधनमाथि धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन)को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ ।

साथै, पदाधिकारी संख्या १५ जना सहित केन्द्रीय कमिटीको संख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टीको पदाधिकारी संख्यालाई स्थायी कमिटी मान्ने प्रस्ताव गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो ।

विधान महाधिवेशन केन्द्रीत पोलिटब्युरो बैठक आजै समापन गर्ने कार्य तालिका छ । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने तालिका छ ।

सम्बन्धित समाचार