काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच शुक्रबार एकीकरण हुने भएको छ । एक साताअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र अभियानका संयोजक वामदेव गौतमबीच सहमति भएबमोजिम आज एकता हुने भएको हो ।
गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ । हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा छन् । गौतम खनालपछिको वरीयतामा हुने छन् ।
पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका नेता गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुने भएको हो । उनीहरू एमालेका पूर्वनेता हुन् । एमालेको नेतृत्व गरेका नेपाल एमालेबाट प्रधानमन्त्री बनेका थिए भने गौतम गृहमन्त्रीसमेत बनेका थिए ।
नेकपा कालमा केपी शर्मा ओली ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अन्तरविरोध चुलिँदा गौतम प्रचण्ड र माधवतिर लागेका थिए ।