काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्याक्षसहित पदाधिकारी संख्या घटाउने प्रस्ताव पेश भएको छ ।
विधान मस्यौदा समिति तयार पार्ने जिम्मा पाएका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव पेश गरेका हुन् ।
प्रस्तावमा वरिष्ठ उपाध्यक्ष हटाइएको छ । यो पदमा अहिले ईश्वर पोखरेल रहँदै आएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका पोखरेलले पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीलाई साथ दिएका छन् ।
यअसघि प्रथम विधान महाधिवेशनबाट एमालेमा वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको थियो ।
पौडेलले पेश गरेको प्रस्तावमा उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या पनि घटाउने प्रस्ताव गरिएको छ । प्रस्तुत प्रस्तावअनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछ ।
अहिले एमालेमा वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव छन् । केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव पनि अघि सारेका छन् ।