काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । सरकारले गत जेठ १५ मा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट आजदेखि कार्यान्वयनमा आएको छ ।
सरकारले २०१८ देखि आर्थिक वर्ष साउनमा सुरु भई असारमा सकिने नीति ल्याएको थियो । त्यसअघि प्रणालीका लागि निश्चित अवधि तोकिने चलन थिएन ।
नयाँ आर्थिक वर्षमा सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनमा जाने हुन्छ । योसँगै राजस्व, शुल्क, जरिवानालगायतका व्यवस्थामा गरिएका परिवर्तन लागू हुनेछ ।
आजदेखि तीन तहका सरकारले बजेटको पूर्ण कार्यान्वयन सुरु गर्छन् । यद्यपि, सरकारले जेठ १६ देखि बजेट कार्यान्वयन सुरु हुने व्यवस्था गरेको छ ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत लागू गरेका नयाँ करदेखि फिर्ता गरिएका करका दरसमेत लागू हुने भएको छ ।
सरकारले बजेटमार्फत पहिलो पटक सुन र सुनका गरगहनामा विलासिता शुल्क लगाएको छ । योसँगै आजदेखि सुन र सुनका गरगहनाको बिक्री मूल्यमा २ प्रतिशत विलासिता शुल्क लाग्ने छ । जसमा उपभोक्ताले सुन खरिद गर्दा २ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ ।
यसअघि १० लाखभन्दा बढी मूल्यका सुनका गरगहना वा हिरा, मोती पत्थर जडित सुनको गहनामा मात्रै यो शुल्क लाग्दै आएको थियो ।