काठमाडौँ । भारतको उत्तराखण्डस्थित नैनितालमा जीप दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ । सोमबार राती बेतालघाट ब्लकको मल्लगाउँमा पिकअप गाडी सडकबाट तल खसेको थियो ।
सोमबार अबेर राति भएको दुर्घटनामा सात नेपाली सहित आठ जनाको मृत्यु भएको हो । आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । गाडीमा ११ जना सवार रहेको भारतीय संचरामाध्यमले जनाएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा चालक नैनीतालको बेतलघाट निवासी राजेन्द्र कुमार रहेको बताइएको छ । मृत्यु हुने नेपालीहरू मजदुर रहेका थिए । उनीहरू अबेर रातसम्म काम गरेर फर्किदै थिए । ज्यान गुमाउने नेपालीहरू महेन्द्रनगरको रहेको जनाइएको छ । दुर्घटनामा परी ३८ वर्षका विनोद चौधरी, ६० का गोपाल बस्नेत, ५० वर्षका विश्राम चौधरी, ४० वर्षका अनन्तराम चौधरी, ४५ वर्षका तिलक चौधरी, ५५ का उदयराम चौधरी र ४५ वर्षका धिरजले ज्यान गुमाएका हुन्।
घाइतेहरूमा शान्ति चौधरी, छोटू चौधरी र प्रेम बहादुर जिला कटिहर रहेका छन् । बेतालघाट प्रहरीका अनुसार राति अबेरसम्म उन्चाकोटको मल्लगाउँबाट १० जना मजदुरहरू काम सकेर हल्द्वानीतर्फ जाँदै थिए । उनीहरू सो गाउँमा जल जीवन मिसन प्रोजेक्टमा कार्यरत थिए । गाडी अनियन्त्रित भएर २०० फिटभन्दा गहिरो खाल्डोमा खसेको प्रहरीको भनाइ छ । जसकारण आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै बेतालघाट प्रहरीले घटनास्थलमा पुगेर स्थानियसहित उद्धार कार्य गरेको थियो । उद्धारपछि सबै ८ जनालाई निकै कठिनाईकासाथ खाल्डोबाट बाहिर निकालिएको थियो । घटनाको सम्पूर्ण क्षेत्रमा प्रहरीले खोजी कार्य गरिरहेको छ ।