काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले यो कुरा भनिसकेको र पार्टी सदस्यता लिइसकेको उनले बताएकी छन्।
सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि आम सञ्चार माध्यममा पहिलो पटक बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताएकी हुन्।
पत्रकार जगदिश खरेललाई अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई खरेलले एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो भनेर प्रश्न गरेका थिए।
जबाफमा उनले भनिन्, ‘तपाईंले भनेको कुरामा सत्यता छ। ११ औं महाधिवेशन तोकिएको छैन। तर यो सार्वजनिक बहसको विषय भइसक्यो। मेरो कुरा त्यही लाइनतिरै जान्छ। समय आउनुपर्यो नि !’
एमालेको नेतृत्व लिनकै लागि सक्रिय राजनीतिमा फर्किएको हो भन्ने खरेलको प्रश्नमा भण्डारीले भनिन्, ‘त्यसमा कुनै सन्देह छ र ?’
दुई कार्यकाल राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्केर अब प्रधानमन्त्री बन्ने हो भन्ने खरेलको प्रश्नमा भण्डारीले आफू सबै विकल्पका लागि खुला रहेको बताएकी छन्।
‘पूर्वराष्ट्रपतिले लिने सबै सुविधा परित्याग गरेर म जनताको सेवा गर्न र राष्ट्रिय आकांक्षा पूरा गर्न आएकी हुँ। यो वा त्यो भन्ने बेला भएको छैन। जे गर्दा (देशलाई) राम्रो हुन्छ, त्यही गर्ने हो,’ उनले भनिन्।
५५ मिनेटभन्दा लामो अन्तर्वार्तामा खरेलले भण्डारीलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका बारे, कांग्रेस सभापति शेरबहादुर देउवाले उनको राजनीतिमा भएको पुनरागमनबारे राखेको धारणाबारे प्रश्न गरेका थिए।
पार्टी अध्यक्षमा ओली अझै दोहोरिने विश्वास आफूलाई नभएको बताउँदै उनले भनिन्, ‘उहाँ दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो। मैले चिनेको केपी ओली अझै मै हुन्छु भन्ने खालको होइन। एउटै कक्षाको जाँच दोहोर्याएर दिन्नँ भन्ने मान्छे हो उहाँ । उहाँ अध्यक्षमा दोहोरिनु हुन्न भन्ने मेरो विश्वास छ।’
अध्यक्ष ओलीले राजनीतिमा भएको आफ्नो आगमनलाई स्वागत नै गरेको दाबी गर्दै भण्डारीले उनीसँग निरन्तर संवाद भइरहेको बताएकी छन्।