पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक सुविधा नलिने भन्दै गृह मन्त्रालयमा पठाइन् पत्र

0 Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षाबाहेक सेवा सुविधा नलिने भन्दै गृह मन्त्रालयलाई पत्र लेखेकी छन्।

बुधबारदेखि लागू हुने गरी सेवा सुविधा फिर्ता गरिएको व्यहोरासहितको पत्र राष्ट्रपति भण्डारीले स्वकीय सचिव राजकुमार राईमार्फत् गृह मन्त्रालयमा पठाएको उनको सचिवालयले जनाएको छ।

सरकारले पूर्वराष्ट्रपति भण्डारीलाई दुई जना स्वकीय र तेलबापत रकम पठाउँदै आएको थियो। उक्त सेवा सुविधा अबदेखि नलिने पूर्वराष्ट्रपतिले पठाएको पत्रमा उल्लेख छ।

उनले सुरक्षाबाहेक सेवा सुविधा नलिने उल्लेख गर्दै पत्र पठाएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

दुई कार्यकाल राष्ट्रपति बनेकी उनी हालै नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्केकी छिन्। उनले एमालेमा आफ्नो सदस्यता नवीकरण गराएकी छन्।

सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेटको खर्च तथा सचिवालय (उपसचिव, गाडी चालक र कार्यालय सहयोगी) लगायत सेवा सुविधा दिने गरेको छ।

 

सम्बन्धित समाचार