हामी मिसन ८४ मा अग्रसर छौँ, अवरोध गर्नेको हिसाब गरिने छ- प्रधानमन्त्री

0 Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गरे ।

जननेता मदन भण्डारीको ७४औँ जन्म जयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा चन्द्रागिरी नगरपालिका १३, कंकालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरूको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन ८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेको हिसाब किताब गरिने बताए ।

‘हामी अर्जुनदृष्टिका साथ मिसन ८४ को अभियानमा छौँ, हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो, यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन,’ अध्यक्ष ओलीले भने, ‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन, केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो, हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गत वर्षको भन्दा १४ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए ।

प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसईईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी गराए ।

सम्बन्धित समाचार