काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिबाट आफूले रिटाएर्ड लिने समय आएको बताएका छन् ।
कांग्रेस चितवनले शुक्रबार आयोजना गरेको प्रजातन्त्र सेनानी स्व. गौरीदेवी प्रधानको सातौँ दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले पार्टीभित्रको गुटगत लडाइँप्रति चिन्ता व्यक्त गरे ।
उनले भने, ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ, हाम्रो पार्टीको रोग नै यही हो, हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ, म रिटायर्ड हुन लाग्या छु, यो पार्टीलाई एक बनाउने इच्छा छ ।’
पार्टीभित्र एकता भए निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिने उनको दाबी थियो । ‘एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने बाध्यता छ, हिजो माओवादीसँग मिलियो, अहिले एमालेसँग मिलिएको छ, के गर्नुहुन्छ? हामी ठूलो पार्टी भए पनि बहुमत थिएन, हाम्रो पार्टीमा सबै एक भयौँ भने बहुमत ल्याउन सक्छ,’ उनले भने।
नेपाली कांग्रेस बलियो बनाउनेबाहेक अरू सोच आफूमा नरहेको उनको भनाइ थियो।