एकीकृत समाजवादीको कार्यबहाक अध्यक्ष झलनाथ कि राजेन्द्र भन्ने बहस सुरु

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको पतञ्जलिको जग्गाको हदबन्दी प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि पार्टीको कार्यबहाक अध्यक्ष तोक्नुपर्ने बहस सुरु भएको छ ।

पार्टी अध्यक्षबाट नेपालले राजीनामा दिएर अनुसन्धानलाई सघाउन राजीनामा दिएर कुनै नेतालाई कार्यबहाक अध्यक्ष तोक्नुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको हो ।

एकीकृत समाजवादीमा नेपालले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिएर कार्यवाहक तोक्नुपर्ने विषयले प्रवेश पाएको एक नेताले बताए । ‘पार्टीमा नैतिकताको विषय अध्यक्ष माधव कमरेडले उठाउनुहुन्छ । उहाँलाई भन्या जस्तो पतञ्जलिको जग्गाको हदबन्दी र जग्गा बिक्रीमा संलग्न हुनुहुन्छ भन्ने लाग्दै लाग्दैन’ ती नेताले भने, ‘तर, एउटा कुरा अख्तियारले आरोप लगाएर मुद्दा लगाएपछि अनुसन्धानलाई सघाउनु पर्याे । त्यो अवधिसम्म अध्यक्षबाट राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको मात्रै हो ।’

अध्यक्ष नेपालले राजीनामा दिएमा सम्मानित नेता झलनाथ खनाल वा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिनुपर्ने विषय प्रवेश पाएको ती नेताले बताए । पार्टीमा दोस्रो वरियतामा भएका खनाल बनाउनुपर्छ भनेर एक पक्ष लागेको छ अर्को पक्ष अध्यक्षपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे भएकाले उनलाई बनाउनुपर्छ भनेर लबिङमा लागेका छन् । नेपाललाई मुद्दा लागेपछि छानबिनको किनारा नलाग्दासम्म सांसद पद निलम्बन परेको छ भने पार्टी अध्यक्षमा समेत उनीमाथि प्रश्न उठ्न थालेको छ ।

तत्कालीन एमाले महासचिव हुँदा पहिलो संविधान सभा २०६४ सालमा दुई ठाउँबाट निर्वाचन लड्दा पदबाट राजीनामा दिएका थिए । त्यसपछि नेपाल पुनः नेतृत्वमा पुग्न निक्कै प्रयास गरे पनि सकेका थिएनन् । तत्कालीन नेकपामा विवाद भएपछि अदालतबाटै पार्टी फुटेपछि नेपालले आफ्नो नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । यति बेला पार्टीमा नेपालले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने विषयले प्रवेश पाए पनि सजिलै छोड्ने देखिएको छैन ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले अख्तियारले मुद्दा लागाउदा बित्तिकै अध्यक्षबाटै माधव नेपालले राजीनामा दिनुपर्छ भन्ने नरहेको जिकिर गरे । उनले भने, ‘अख्तियारले मुद्दा लगाएपछि सांसद पद निलम्बन हुनु स्वाभाविकै हो । पार्टी अध्यक्षबाटै राजीनामा दिनुपर्छ भन्ने छैन । पदमा हुँदा पनि मुद्दा लड्न छेक्दैन ।’ अध्यक्ष नेपालले कुनै भ्रष्टाचार, अनियमितता र देशलाई नोक्सानी हुने काम नगरेकाले अदालतबाट सफाइ पाउने पराजुलीले दाबी गरे ।

सम्बन्धित समाचार