सरकारलाई इप्पानको चेतावनी ‘पावर हाउस बन्द गराएर ८० प्रतिशत बिजुली ठप्प पारिदिन्छौं’

0 Shares

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले सरकारले बजेटमा ल्याएको टेक एण्ड पे पीपीएको प्रावधान संशोधन नगरे निजी क्षेत्रका जलविद्युत आयोजनाका सबै पावरहाउस बन्द गर्ने चेतावनी दिएको छ ।

बजेटमा आएको सो प्रावधानको विरोधमा आयोजित उर्जा उत्पादकहरुको भेलामा इप्पानका अध्यक्ष गणेश कार्कीले यस्तो चेतावनी दिएका हुन् ।

अहिले ८० प्रतिशत बिजुली निजी क्षेत्रले उत्पादन गरेको भन्दै यदि निजी क्षेत्रले बिजुली नदिने हो भने नेपाल विद्युत प्राधिकरण बन्द हुने उनले दाबी गरे । उनले आफुहरु सडकमा तयार बाल्न नसक्ने तर अन्तिम विकल्पको रुपमा पावर हाउस नै बन्द गराउन बाध्य हुने बताए।

बजेटमा आएको व्यवस्थाले १ हजार ११७ मेगावाटका आयोजना प्रभावित भएको र तिनमा ६६ अर्ब लगानी भइसकेको उनले जानकारी दिए । सरकारले ‘अब देशलाई बिजुली पुग्यो, लगानी चाहिँदैन, तिमीहरू डुब्यौ, अब जता जाने हो जाउ’ भन्ने संदेश दिएकोले मर्नै पर्ने, झुन्डिनै पर्ने अवस्था आएको उनले उल्लेख गरे । उनले भने ‘ मर्नै पर्ने, झुन्डिनै पर्ने हो भने अन्तिम विकल्पका रुपमा हामी पावर हाउस बन्द गराउन बाध्य हुन्छौं’।

२८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य लिने, तर खरिद चाहि नगर्ने भन्ने कुरा निकै गम्भीर विषय रहेको उनले बताए । सरकारले बजेटमा आगामी वर्ष ४८ सय मेगावाट बिजुली पुर्याउने भनेको तर अहिलेकै प्रावधान रहे त्यो नबन्ने उनको दाबी छ ।

आरओआरको मात्रै होइन, सोलार र स्टोरेजको पनि पीपीए नहुने अवस्था बनेको उनले बताए । अध्यक्ष कार्कीले सरकार र विद्युत प्राधिकरणलाई विद्युत ब्यापार गर्न नसक्ने हो भने हात उठाएर घोषणा गर्न चुनौती दिए । अनुमति दिएमा निजी क्षेत्र आफैले विद्युत ब्यापार गर्ने उनको भनाई थियो ।

आजसम्म अन्याय सहेर बसेको तर अब बाध्य भएर आयोजनाको पावर हाउस नै बन्द गर्ने चेतावनी उनले दिए ।

सम्बन्धित समाचार