वाइसियलको नेतृत्वमा पुग्न चर्को प्रतिस्पर्धा, सर्वसम्मत चयन गर्न प्रचण्डको निर्देशन

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको शक्तिशाली भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसियल)को नेतृत्वमा पुग्न प्रतिस्पर्धा सुरु भएको छ ।

आगामी जेठ १८ गतेदेखि २० गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा तेस्रो राष्ट्रिय सम्मेलन हुने भएपछि नेतृत्वमा पुग्न आफू निकट नेतासँग लविङमा लागेका हुन् ।

वाइसिलको वडा, स्थानीय तह, पालिका जिल्ला र प्रदेश सम्मेलन पूरा भइसकेको एक पदाधिकारीले बताए । केन्द्रीय अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समितिको तेस्रो सम्मेलनबाट टुंगो लाग्ने भएको उनले बताए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनको अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समिति सकेसम्म सर्वसम्मतमा चयन गर्न निर्देशन दिइसकेको ती नेताले बताए । यदि, सर्वसम्मत रुपमा नेतृत्व चयन नभएमा निर्वाचनबाट टुंगो लगाउने विधिमा अध्यक्ष प्रचण्डले हस्तक्षेप नगर्ने भएका छन् ।

वाइसियल अध्यक्ष सुबोध श्रीपाली नेतृत्वबाट बिदा हुने भएपछि पुनः अध्यक्षमा दोहोरिने मनस्थिति बनाएका छैनन् । संगठनमा नेतृत्व हस्तान्तरण गनुपर्छ भन्ने मान्यता राख्ने भएकाले नेतृत्व छोड्न लागेको उनले बताए ।

संगठनमा ४० वर्षे उमेर हद कायम भएकाले अधिकांश पदाधिकारी संगठनबाट बिदा हुन लागेका छन् । अहिले अध्यक्षमा उपाध्यक्षय केहरसिंह कुँवर, उपहासचिव पुष्प ओली, सचिवबाट डम्बर पुलामी, गणेश शाही, माधव बस्नेतलगायतले आकांक्षा राखेका छन् ।

अरु उपाध्यक्ष, र उपमहासचिवहरुले अध्यक्षमा जाने इच्छा देखाए पनि ओली, कुँवर, पुलामी, बस्नेत र शाही प्रमुख दाबेदार रहेको संगठनका ती नेताले बताए ।

यस्तै, वाइसियल महासचिवमा सोभाराम भण्डारी, हरि ढकाल, सन्तोष पनेरु, दिरज उपरकोटीलगायतले इच्छा देखाएका छन् । यसरी नेतृत्वमा आउन खोजेका अधिकांश नेताहरु जनमुक्ति सेनाबाट अवकाश लिएका धेरै रहेका छन् ।

पछिल्लो समय वाइसियलको चाम घटेको छ । कुनै समय गणेशमान पुन, रामप्रसाद सापकोटा दिपशीखा हुँदा वाइसियलको चर्चासमेत हन्थ्यो । उक्त संगठन धेरै सक्रिय हुँदा कतिपय अवस्थामा आलोचितसमेत भएको थियो । तर, पछिल्लो समय पार्टीले वाइसिललाई वैचारिक, राजनीतिकसँगै उत्पादनमा केन्द्रत गर्ने नीति लिएपछि कम चर्चा हुन थालेको नेताहरू बताउँछन् ।

अहिले ३१५ सदस्यीय केन्द्रीय समिति रहेको वाइसिएलमा ६१ जना पदाधिकारी रहेका छन् । आगामी सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि बनिसकेको छ । आगामी सम्मेलनबाट वाइसियलको छरितो टिम बन्ने भएकाले प्रभावकारी हुने नेताहरूले दाबी गरेका छन् ।

सम्बन्धित समाचार