काठमाडौँ । भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दैछ। सो खेल दिउँसो २ः४५ मा सुरु हुनेछ।
नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगिसकेको छ भने बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ। पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो। १५७ रनको लक्ष्य पाएको बरोडा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो।
आइतबार हुने फाइनल खेलमा नेपालले गुजरातको सामना गर्नेछ। नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो भने बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो।
अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्ने मौका प्राप्त गर्नेछ। सोही प्रतियोगिताको तयारीका लागि नेपालले भारतसँग एसएमएस फ्रेन्डसिप टी–२० कप खेलेको हो। नेपाल उतैबाट ओमान जानेछ।