निजी क्षेत्रबाट बजेटको स्वागत, सुझाव समेटिएको प्रतिक्रिया

0 Shares

काठमाडौँ । निजी क्षेत्रले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा समेटिएका विषयवस्तुलाई स्वागत गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा महाङ्सघले दिएका धेरै सुझाव समेटिएको बताए । उनले भने, “निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ढङ्गबाट बजेट आएको छ, महासङ्घले लगानी प्रवर्द्धन, खनिज निकासीका सम्बन्धमा दिएका सुझावका धेरै बुँदा समावेश भएका छन्, लगानी बोर्डलाई शक्तिशाली बनाउन खोजिएको छ ।”

नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमले शकुमार अग्रवालले आफ्नो संस्थाले दिएका सुझाव बजेटमा समेटिएको प्रतिक्रिया दिए । उनले भने, “यो बजेटलाई महत्वकाङ्क्षी रुपमै लिएको छु । निजी क्षेत्रले दिएका धेरै सुझाव र माग बजेटमा परेका छन् । अहिलेको विषयम परिस्थितिमा स्रोत बाँडफाँट प्रणाली राम्रो छ । राजस्व सङ्कलनको प्रक्षेपण पनि ठिकै छ ।”

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरलले मुलुकको अर्थतन्त्रको दवावकाबीचमा ल्याइएको बजेटमा निजी क्षेत्रका राय, सुझाव र परामर्शलाई अनुसरण गरिएको प्रतिक्रिया दिए । उनले भने, “निजी क्षेत्रलाई उत्साह दिन खोजिएको पाइएको छ, सरसर्ती हेर्दा बजेट सकारात्मक दिशातर्फ उन्मुख छ । उद्यमशीलतालाई जोड दिन खोजिएको छ ।”

चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्राले निजी क्षेत्रले उठाएका धेरै कुरा समेटिएको र राम्रो बजेट आएको बताउनुभयो । “नेपालीलाई विदेशमा लगानी गर्न पाउने बाटो खुलेको छ, हामीले यसलाई बारम्बार उठाउँदै आएका थियौँ”, उनले भने ।

चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटले राजस्व सङ्कलनमा कठिन देखिएको भए पनि समग्रमा आइटी क्षेत्रलाई समेटिएर आएको बजेट राम्रो रहेको प्रतिक्रिया दिए ।

बजेट विगतको निरन्तरतामै सीमितः प्रमुख प्रतिपक्ष

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले बजेट विगतको एउटा निरन्तरताका रुपमा मात्र सीमित रहेको प्रतिक्रिया दिए ।

“निरन्तरको प्रक्रियाभन्दा कुनै गुणात्मक परिवर्तन छैन । निजी क्षेत्रका माग केही हदसम्म सम्बोधन भएको भन्ने आएको छ, त्यो सकारात्मक छ”, उनले भने, “स्रोतका हिसावले भन्ने हो भने राजस्वको आम्दानी र खर्चको अवस्था हेर्दा दयनीय अवस्था छ ।”

निरन्तरतामा अहिलेको अर्थ व्यवस्था चल्न नसक्ने जनाउँदै पूर्वअर्थमन्त्री शर्माले त्यसका लागि अर्थतन्त्रको ‘मोडालिटी’ नै बदलेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए । “अहिले त्यसमा जोड दिएको छैन । भन्सार र विप्रेषणमा होइन, आफ्नो उत्पादनमा निर्भर भएर देश चल्ने अवस्था नगर्दासम्म विकासले गुणात्मक फड्को मार्न सक्दैन”, उनले भने ।

जनजीविकाका सवाललाई प्रस्तुत बजेटले सम्बोधन नगरेको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा, रोजगारी यस बजेटमा ठोस् रुपमा नसमेटिएको प्रतिक्रिया दिए ।

प्रतिनिधिसभा, अर्थसमिति सभापति सन्तोष चालिसेले भने बजेट उत्कृष्ट आएको प्रतिक्रिया दिए । “बजेट कार्यान्वयन कस्तो हुन्छ भन्नेमा सबैको चासो छ, समग्रमा कृषि र पर्यापर्यटन, ऊर्जालाई प्राथमिकतामा राखेर आएको बजेट युवा लक्षित छ । स्वास्थ्य क्षेत्र, रसायनिक मल, टनेलयातायात लागि समयसीमा तोकेर आएको बजेट राम्रो छ”, उनले भने ।

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताए ।

“स्रोत व्यवस्थापनको सीमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ, बजेट वक्तव्यपछि संक्षिप्त प्रतिकृया दिँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, “विगतका कमजोरीहरुलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरु सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ ।”

अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ । विनियोजन कुशलतातर्फ अभिमुख भएको छ । सीमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ ।

“बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउनेछ । निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्नेछ । स्टार्टअप, युवा, उद्यमीहरुलाई प्रोत्साहित गर्नेछ”, अर्थमन्त्री पौडेलले भने । उनले सबै पक्षको साथ, सहयोग, सहकार्य र समर्थनमा बजेट कार्यान्वयन गर्ने बताए ।

सम्बन्धित समाचार