रवि लामिछानेको क्रेजले स्थापित रास्वपा संकटको भूमरीमा !

0 Shares

भूपिन ओली

काठमाडौं । संसदको चौथो ठूलो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र थप जटिलता उत्पन्न हुँदै गएको छ । पार्टी सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने गत असोजदेखि प्रहरी हिरासतमा हुँदा पार्टीमा संकट थपिएको हो ।

राजनीतिक जीवनमा आउनुअघि पत्रकारिता गरिरहेका रविले गोर्खा मिडियामार्फत ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेका थिए । पोखराको सूर्यदर्शन सहकारीसहित देशका विभिन्न सहकारीमा अध्यक्ष रहेका जिबी राई, पूर्वडिआईजी छविलाल जोशीसँग रविले टेलिभिजन सञ्चालन गरेका थिए।

विं.सं. २०७९ सालमा आम निर्वाचन हुँदै गर्दा स्थानीय तहमा काठमाडौंसहित देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार विजयी भएसँगै हौसिएका रविले रास्वपा गठन गरी चुनावमा होमिएको थियो । निर्वाचनको मुखमा पार्टी घोषणा गरी संसदको चौथो ठूलो दल बनेको रास्वपाका सभापति रवि गृहमन्त्री बनेका बन्न भ्याए ।

उनी सत्ताको शक्तिशाली पदमा हुँदा तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित नेताहरुले रविले सहकारीको बचत हिनामिना गरी पीडितमाथि खेलबाड गरेको आरोप लगाए । यो प्रकरणलाई पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गरेको थियो ।

गृहमन्त्रीको पदबाट बाहिरिएसँगै रवि गत कात्तिक २ गते बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी रातारात पोखराको सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि कास्की लगिएको थियो । यो सहकारीको अनुसन्धान हुँदै गर्दा रवि माथि उनकै मतदाता चितवन, बुटवल, काठमाडौंलगायत अरु जिल्लाको सहकारीको बचत हिनामिना गरेको, पार्टी सञ्चालन गरे पनि गोर्खा मिडियाको नामबाट आफ्नै श्रीमतीसहित विभिन्न व्यक्ति तथा संस्थाको नाममा रकम भुक्तानी गरेको सिआईबीको अनुसन्धानबाट खुलेको थियो ।

यस घटनालाई विस्तृतमा अनुसन्धान गर्नका लागि नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको नेतृत्वमा सहकारीको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गरी प्रतिवेदन पेश गरिएको थियो । जसमा रविसहित उनीसँग गोर्खा मिडियामा साझेदारी गरेका लगानीकर्तालाई केन्द्रमा राखेर अनुसन्धान गरिएको थियो । उनले आधा दर्जन सहकारीको ठगी आरोपमा करोडौँ धरौटी बुझाएर रिहा भएका थिए ।

रविलाई सर्वोच्चको आदेशले दिएको चोट
धरौटी बुझाएर रिहा भएसँगै रविले पार्टी कार्यक्रमलाई तीव्रता दिन थालेका थिए । आफूमाथि लागेको सहकारी ठगीको आरोप जनताले थाहा पाउनुपर्ने भन्दै उनी देशभर कार्यक्रमको तयारी जुटिरहेका थिए ।

यसैबीच गत चैत्र २२ गते उनी आफ्नै निवास बूढानीलकण्ठबाट पक्राउ परे । उच्च अदालत दाङको बुटवल इजलासले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । उक्त आदेशसँगै उनी पुनः पक्राउ परेका थिए ।

आफ्नो श्रीमानलाई बिना कारण पक्राउ गरी दुःख दिएको भन्दै निकिता पौडेल लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उनले आफू बाहिरै बसेर सहकारीको ठगी मुद्दामा लड्न पाउने माग राखेकी थिइन् ।

तर, गत शुक्रबार रविलाई छुटाउन नहुने भन्दै सर्वोच्चले उच्च अदालत दाङको आदेश सदर गरिदिएको थियो । यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही मुद्दा उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेको थियो । सर्वोच्चको आदेशसँगै अब सहकारीको मुद्दा टुंगो नलाग्दासम्म रवि रुपन्देहीको प्रहरी हिरासतमा बस्ने छन् ।

रास्वपामाथि संकट
रवि पत्रकार हुँदा पाएको क्रेजका कारण रास्वपा गठन भएको स्पष्ट छ । पत्रकारितामार्फत देशको बेतिथिमाथि आक्रमक प्रश्न गरेका रवि आफै सत्तामा पुग्नासाथ प्रश्नको घेरामा बेरिए ।

सहकारीको बचत गोर्खा मिडिया प्रा.लि.मा ल्याएर हिनामिना गरेको, आफ्नै श्रीमतीको नाममा बैंकको चेक काटेको आरोपमा मुछिए । करिब ७० करोडभन्दा बढी सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धान हुँदै जेल पुगे । उनीसँगै कम्पनीका प्रमुख साझेदारी जिबी फरार छन् । उनी आफै गृहमन्त्री हुँदा प्रमुख आरोपी जिबीलाई पक्राउ गर्न सकेनन् ।

अहिले जिबीले भोग्नुपर्ने कारबाही रविकै काँधमा आएको छ । रवि उनी जेलबाट रिहा हुने समय अनिश्चित बन्दै गर्दा रास्वपाको भविष्यमाथि प्रश्न उब्जिएको छ । हाल पार्टीको जिम्मेवारी कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)ले लिएका छन् । पार्टी विधानअनुसार दुई उपसभापतिमध्ये उमेरका आधारमा जेष्ठ हुनेले कार्यवाहक सभापति पाउने उल्लेख छ ।

विधानले भनेको मान्ने हो भने रास्वपाको कार्यवाहक सभापति अर्का उपसभापति स्वर्णिम वाग्ले हुनुपर्ने हो । तर, पार्टी निर्माणदेखि खटिएका डिपीले जिम्मेवारी लिँदा आगामी दिनमा स्वर्णिमले के गर्ला ? भन्ने प्रश्न खडा भएको छ । आखिर उनी नेपाली कांग्रेसमा आफूले भनेजस्तो पद नपाएपछि रास्वपा प्रवेश गरेका थिए । अब रवि नहुँदा रास्वापाको बागडोर डिपि र स्वार्णिमको काधमा आएको छ ।

यसैगरी महामन्त्री पद पनि कार्यवाहकको भरमा चलेको छ । तत्कालीन महामन्त्री मुकुल ढकाललाई पार्टी निष्कासन गरेपछि खाली भएको स्थानमा कवीन्द्र बुर्लाकोटीले जिम्मेवारी सम्हालेका छन् । कार्यवाहक प्रवक्तामा मनिष झाले जिम्मेवारी लिएका छन् ।

रविलाई सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेसँगै पार्टीका प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाहले राजीनामा दिएका छन् । उनको राजीनामा आइतबार केन्द्रीय समितिको बैठकले स्वीकृत भएको हो । पार्टी प्रवेश गरेको छोटो समयमा महत्वपूर्ण जिम्मेवारी पाएका शाह पार्टीबाट अलग हुँदा नकारात्मक सन्देश गएको छ ।

यस्तै, पूर्वशिक्षा मन्त्री तथा सांसद सुमना श्रेष्ठले पनि आफ्नो जिम्मेवारीबाट राजीनामा दिएकी छन् । उनले आफू दुई पदमा नबस्ने भन्दै पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनी पार्टीको तर्फबाट सांसदसमेत छिन् । पार्टीको भविष्य नदेखेर श्रेष्ठ बाहिरिएको कतिपयको विश्लेष्ण छ । रास्वपका नेता गणेश कार्कीले पार्टी संरचना बनिसकेकाले रबि लामिछाने नहुँदा पनि पहिलेकै अवस्थामा अघि बढ्ने दाबी गरे ।

‘साभापति ज्युलाई बाहिरै बसेर मुद्धा लड्न दिएको भए राम्रो हुन्थो तर उहाँ नहुदा पनि पार्टी जिवनमा खासै असर पर्दैन किन की पार्टीका सबै संरचना बनिसकेका छन् त्यसै अनुरुप अघि बढ्छ ।’ अब पार्टीले घोषण गरेको अभियनमा एकताबद्ध भएर जनताको बिचमा जाने उनले बताए ।

यसरी रविको क्रेजमा स्थापना भएको रास्वपा उनकै कारणले संकटको दिशामा धकेलिएको छ । सहकारी ठगीबाट हौसिएर थप मनोकांक्षा बढाएका उनी उपप्रधानसहित गृहमन्त्रीसम्म बन्न भ्याएका थिए । तर, सहकारी ठगीको कालो बादल मडारिएपछि जेलको कालकोठरीमा पुगेका छन् । आगामी दिन रास्वापाको भबिष्या कस्तो हुने हो यकिन भन्न सकिने अवस्था छैन ।

 

सम्बन्धित समाचार