संजय थापा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सत्ता बाहिर गएको ठ्याक्कै ११ महिना भयो । सत्ताबाट निस्किए लगत्तै अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारलाई अप्राकृतिक र अलोकतान्त्रिक र बिचौलियाले सरकार बनाएको आरोप लगाए । पछिल्लो समय प्रचण्ड सत्ता बाहिर निस्किएको छटपटाहट बढ्दै जाँदा केपी शर्मा ओली नेतृत्वको सरकार आफै कुहिएर झर्ने दाबी गर्दै आएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच गत वर्षको असार १७ गते सात बुँदे सहमति गरेर सत्ता सहकार्य गर्न पुगेका थिए । प्रचण्ड संसद्को पहिलो र दोस्रो ठुलो दल मिल्छन् भन्ने कल्पना समेत गरेका थिएनन् । काहिँलै एमाले काहिँलै काङ्ग्रेससँग सहकार्य गरेर सरकार जोगाउने दाउमा लाग्न थालेपछि दुवै पार्टी मिल्न बाध्य भएका थिए ।
प्रचण्डलाई धोका दिएर ओली देउवासँग सरकारको नेतृत्व आधा/आधा कार्यकाल बाँडफाँड गर्ने समझदारी गरेका थिए । सत्तामा हुँदा कहिले एमाले कहिले काङ्ग्रेसतिर सहकार्य गरेका प्रचण्ड दुई ठुला दल मिलेपछि चकित पर्दै पार्टी अभियान भन्दै देश दौडमा हिँडेका छन् । गत फागुन १२ गते झापाको कचनकेवलदेखि सुरु भएको हुलाकी राजमार्ग केन्द्रित अभियान वैशाख १७ गते कञ्चनपुर कञ्चनपुरको भिमदत्त नगर पुगेर समापन गरिएको थियो । पार्टी अभियाकै बेला प्रचण्डले सत्ता फेरबदल हुने बारम्बार अभिव्यक्ति दिँदै आएका थिए ।

देउवा सपरिवार सिंगारपुर उपचार गर्न गएपछि राजनीतिक रूपमा तरङ्ग पैदा भयो । देउवा सिंगारपुर गएदेखि नै सरकार फेरबदल हुने फैलिएको हल्ला गत वैशाख १२ गते सिंगारपुरबाट स्वदेश फर्किएपछि शान्त भयो । स्वदेश फर्किनेक्रममा देउवाले ओली सरकार नै निरन्तर जाने भन्दै तत्काल विकल्प खोज्ने अवस्थामा नपुगेको प्रतिक्रिया दिएपछि सबै हल्ला एकै पटक साम्य हुन पुगे ।
सत्ताबाट बाहिरिएका प्रचण्ड पुनः सत्तामा जान अनेक प्रयास जारी राखेका छन् । आफू सत्तामा नजाने बारम्बार अभिव्यक्ति दिने गरे पनि मिलेसम्म अहिलेको गठबन्धन भत्काउन अनेक जुक्ति निकाल्ने गरेका छन् । माओवादी केन्द्रका सचिव गणेश साहले प्रचण्ड सरकारमा जान चाहेको विषय विभिन्न भावभङ्गीबाट प्रस्ट हुने दाबी गरे । साहले भने, ‘प्रचण्डले तत्काल सरकारमा जाने इच्छा छैन भन्नुहुन्छ ।
जनता तिरै पार्टी फर्काइ दिएकोमा जति नै धन्यवाद दिए पनि मौका मिले माओवादी सरकारमा जान्छ । जुनसुकै पार्टीको पनि पहिलो प्राथमिकता सत्ता नै हो ।’ साहले राजनीतिमा जुन गर्दिन भनिन्छ त्यहीँ गरिने भएकाले सत्य कुरा पत्ता लगाउन गाह्रो प्रतिक्रिया दिए ।
पार्टीको दोस्रो अभियानको सुरुवात हुने दिन जेठ २ गते वैतडीको पाटनबाट सुरु हुने भएपछि डढेलधुरा पुगेका बेला प्रचण्डले देउवालाई फोन गरे । जसरी ओलीले समेत सत्ता बाहिर भएकाले बेला पार्टीले जनसभा गरेका बेला डढेलधुराबाट फोन गरेका थिए । प्रचण्डले देउवालाई फोन गरे लगत्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । देउवाले विश्वास गर्ने नेतामा शर्मा पर्ने भएकाले प्रचण्डले उनलाई बुढानिलकण्ठ भेट्न पठाएका थिए ।
देउवा शर्मा भेटका बारेमा आधिकारिक कुरा बाहिर आएका छैनन् । तर, माओवादी नेता शर्माले देउवासँग तत्काल ओलीको विकल्प खोज्न तयार नभएको प्रतिक्रिया दिएको उनी निकट नेताहरूलाई ब्रिफिङ गरेका छन् । ‘मैले लुकाएर कुरा गर्न जानेको छैन । अहिले तत्काल ओली जीको विकल्प खोज्ने पक्षमा छैन । अहिले ओली जीलाई धोका दिन्न ’ देउवा शर्मा संवाद बारे शर्मा निकट एक नेताले भने । काँग्रेसभित्र ओलीको विकल्प खोज्नुपर्ने मत बलियो भए पनि देउवा प्रचण्डसँग ढुक्क नहुँदा सरकार यथावत् हुने देखिएको छ ।
उता विदेश नीतिमा समेत ओलीको राम्रो बन्न सकेको छैन । ओली सरकार गठन भएदेखि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उति सारो खुसी थिएनन् । जसका कारण ओलीलाई मोदीले औपचारिक भ्रमणको निम्तो दिएका दिएनन् । प्रधानमन्त्री ओलीले भारत भ्रमणको वातावरण मिलाउन परराष्ट्र मन्त्री आरजु राणा र नेपालका लागि भारतीय राजदूत शंकर शर्मामाथि दबाब बढाएका थिए ।
मन्त्री राणा र राजदूत शर्माले जति नै जोडवल गरे पनि प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण मिलाउन नसकेपछि यो विषय अलि सेलाएको छ । ओलीको भारत भ्रमण नहुँदा सत्ता धेरै लामो समय नजाने हो कि भन्ने धेरैले विश्लेषण गर्दै आएका छन् ।