काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ। प्रवेशसँगै पहिलो कार्यक्रमका रूपमा सुर्खेतको राकम कर्णालीमा जनसंवाद सम्पन्न भई सकेको छ । सुदूरपश्चिमको बैतडी पाटनबाट सुरु गरिएको अभियान अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी राकम कर्णालीमा प्रवेश गरेको हो।
अभियान अन्तर्गत आज दिउँसो १ बजे दैलेख सदरमुकाममा भव्य जनसभा आयोजना हुने कार्यक्रम रहेको छ। राकममा सम्पन्न जनसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यकता परे नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए । ‘मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो। मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियान संग जोडिएको छ’ उनले भने ।
सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको र अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता भएको प्रचण्डले बताए । ‘यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको छ । गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपांग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको छ’ उनले भने, ‘कृषकहरूको मल र बीउको समस्या कसरी समाधान गर्ने, स्थानीय तहबाट समाजवाद निर्माणको पहल कसरी लिने, र स्थानीय अर्थतन्त्र कसरी मजबुत बनाउने भन्ने विषयमा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय सरकारहरूलाई नीतिगत रूपमा काम गर्न निर्देशन दिइसकेको छ । स्थानीयलाई सरक्षण र प्रवर्द्वन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको छ । त्यसैले यो अभियान मा साथ दिन अपिल गर्दछु ।’