नेशनल लाइफको नाफा बढ्यो

0 Shares

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार कम्पनीको खुद नाफा २ करोड रूपैयाँले वृद्धि भएको हो ।

कम्पनीले यस अवधिमा ४० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३८ करोड ८३ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५.२० प्रतिशतले बढेको हो ।

तेस्रो त्रैमाससम्म कम्पनीले १४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब ९० करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १०.५९ प्रतिशतले बढेको हो ।

कम्पनीले समीक्षा अवधिसम्म १४ अर्ब ७ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब ६२ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.५४ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६१ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८५ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ४० करोड ७० लाख रुपैयाँ रहेको छ । गत वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५६ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्ममा जीवन बीमा कोषमा ८१ अर्ब ३२ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ८.९९ प्रतिशतले बढेको छ । कम्पनीले हालसम्म ६६ अर्ब ६५ करोड रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ । कम्पनीले लगानी विविधीकरणको नीति अंगालेको छ ।

यो अवधिसम्म कम्पनीमा बीमा गरेका सक्रिय बीमितको संख्या १५ लाख ३४ हजार जना पुगेका छन् । गत वर्ष १५ लाख ८९ हजार जना थिए । यस वर्षको ९ महिनामा मात्रै ३ लाख ८५ हजार जनाले यस कम्पनीमा बीमा गरेका छन् ।

गत वर्षको ९ महिनामा ५ लाख ३१ हजार जनाले बीमा गरेका थिए । ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी १०.४९ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ईपीएस १०।३३ रुपैयाँ थियो । यस्तै प्रति शेयर नेटवर्थ १३६.४७ रुपैयाँ रहेको छ भने पीई अनुपात गुणा ५७.५६ छ ।

सम्बन्धित समाचार