काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको बताएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजसम्म गरिबी बनाएर राख्नेले ‘हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको’ बताए।
‘अचम्म त के भने, यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ, साथ देउ, भनेर लाजै मान्दैन, यो देश कंगाल बनाउने त यिनीहरू हुन् त, अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ, तथ्यांक, आँकडाले बताउँछ, मान्छे नहुँदा जंगलमा मुलुक थियो होला । त्यसपछि के भयो? हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनै पर्छ,’ उनले भने।
यस्तै, प्रधानमन्त्री ओलीले विश्वको वातावरणका लागि पनि योगदान गर्नुपर्ने वषय भएकाले अब वन सवलीकरण गर्ने र बुट्यानलाई पनि सघन वनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए।
कृषि र वनको अधिकृत मिलेर फलफूलखेतीमा जोड दिन सकिने भन्दै उहाँले हिमाली भेगमा प्रशस्त जैतुनको खेती गर्न सकिने भएकाले पारस्परिक सहयोग बढाएर वन संरक्षण गर्दै आर्थिक समृद्धिको मार्ग अग्रसर हुन आग्रह गरे।
उनले किसानहरुलाई पशुपालनमा प्रेरित गर्दा नवीकरणीय वनलाई सहयोग हुने र चरिचरजनको विस्तार गर्दा वन र कृषिको पर्यावरणलाई जोड्न सकिने बताए।
‘मैले बाघको संख्या अब बढाउनु पर्दैनभन्दा वातावरण विरोधी भयो भनेर नबुझीकन टिप्पणी पनि गरियो, खान नपाएपछि उसउले मान्छेलाई आक्रमण गर्छ, फोटाका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन,’ उनले भने, ‘हामीले अन्तरराष्ट्रिय प्रतिबद्धताबमोजिम दोब्बरभन्दा बढी संख्यामा बाघ संरक्षण गरेका छौँ, वनको छेउमा बस्नेलाई यसको पीरमर्का थाहा छ, वातावरणको संरक्षण मानव जातिका लागि हो, मानव जाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न सकिँदैन।’
प्रधानमन्त्री ओलीले पेरिस सम्झौता नमान्ने केही देश रहेको उल्लेख गर्दै विश्व समुदायसँगको सहकार्यमा सबै समाहित हुनुपर्नेमा जोड दिए।