काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ बढेको छ । योसँगै आज सुनको मूल्य दुई लाख नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि असर परेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सुनको मूल्य अझै बढ्ने छ ।
महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य बढेर ३४८० डलर हाराहारीमा पुगेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मात्रै अमेरिकाको केन्द्रीय बैंकलाई हस्तक्षेप गर्ने आशयले अभिव्यक्ति दिएका थिए । योसँगै सुनको मूल्य बढेको हो ।
‘धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्’ ट्रम्पले ट्रुथ सोसियलमा भनेका थिए, ‘अहिले ब्याजदर घटाउन नसकेमा अर्थतन्त्रमा मन्दी आउन सक्छ ।’
साथै उनले ब्याजदर तत्काल घटाइहाल्न फेडका अध्यक्ष जेरोम पावेललाई निर्देशनात्मक शैलीमा भनेका छन् ।
यसैबीच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।